Fri. May 3rd, 2024

भारतीय पूर्व विदेश सचिव श्याम शरणको चेतावनी: कालापानीको विषय उठाए नेपाली दललाई खतरा

काठमाडौं, २०७६ मंसिर १२ गते बिहीबार ।

भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपाल र भारतबचिको सीमा समस्यालाई सहमतिबाट हल गर्नुको साटो राष्ट्रियताको रङ्ग दिन प्रयोग गर्न खोजे नेपालका राजनीतिक दलहरुका लागि खतरा बन्न सक्ने बताएका छन् । सन् २००२ देखि २००४ सम्म नेपालका लागि भारतीय राजदूत समेत रहेका श्याम शरणले नेपालका राजनीतिक दलहरुबीच दुई देशबीच सहमतिबाट हल गर्न लाग्नुपर्ने विषयभन्दा अन्यत्र मोडिएको भन्दै आलोचना समेत गरेका छन् ।

“मित्रवत् तरिकाले सहमतिबाट हल गर्नुपर्ने विषयलाई राष्ट्रियता रङ्ग दिएर उठाउन खोजे नेपालका राजनीतिक दलहरुलाई केही खतरा बन्न सक्छ”, नेपालका लागि राजदूत रहिसकेका श्यामशरणले इन्डियन एक्सप्रेसमा लेखेका छन् । हालैमात्र नेपाल आएर फर्किएका उनले नेपाल र भारतबीचको पृथक र विशेष खालको अभ्यास भइरहेको सीमाको विशिष्टता नै जोखिममा परेको औल्याएका छन् ।

सीमाको पृथक पहिचान र अभ्यासलाई नेपाल र भारत दुवैतर्फबाट जोखिममा पारिएको उनको भनाई छ । “दुनियाँभर नभएको पृथक भारत र नेपालबीचको सीमामा राजनीतिक सीमाले पनि प्राचीनकालदेखि सांस्कृतिक, धामिर्क र नातासम्बन्ध भएका जनताको आवतजावतलाई रोक्न दिइएको छैन,’ श्यामशरणले लेखेका छन्,”तर, नेपालको क्षेत्रीय राष्ट्रवाद र भारतमा बढ्दो सेक्युरिटी स्टेटका कारण यो जोखिममा परेको छ ।”

आफूले काठमाडौंमा रहँदा देखेरको र भोगेको विषय समेत उल्लेख गरी उनले काठमाडौं उपत्यकामा भारतविरुद्ध भावना जगाउन सजिलो हुनेगरेको उल्लेख गरेका छन् । भारतविरोधी भावना नेपालको आन्तरिक र बाह्य राजनीतिमा महत्वपूर्ण हुनेगरेको उनको भनाई छ । भारतले जम्मु कश्मिरको मामलामा नयाँ नक्शा जारी गरेकोमा नेपालका लागि कुनै लेनदेनको विषय नभएको श्यामशरणको तर्क छ । यसै विषयमा नेपालभित्र उठिरहेको विरोधतर्फ संकेत गर्दै उनले राजनीतिक दलहरुको भूमिकाको आलोचना गरेका छन् ।

नेपालले विदेशमन्त्रीस्तरीय छलफलमा यसलाई उठाउने नगरेको समेत श्यामशरणले लेखमा उल्लेख गरेका छन् । उनले सन् २००३ मा आफू राजदूत हुँदा विदेशमन्त्री स्तरमा सन्सन्धी पुनरवलोकनबारे छलफल चलाउने निर्णय भएकोमा कालापानी र सुस्ताको विषयलाई छलफलको विषयबाट हटाइएको खुलासा गरे । कालापानीलाई भारतले नयाँ नक्शामा समेटेर जारी गरेपछि नेपालमा सबै दलहरुबाट विरोध भइरहँदा भारतका कुटनीतिज्ञको पछिल्लो भनाई आएको हो । उनले नेपालका राजनीतिक दलहरुको चर्को आलोचना गर्दै चेतावनीको भाषा समेत प्रयोग गरेका छन् । ननस्टप खवर अनलाईनबाट ।

Facebook Comments