Fri. May 3rd, 2024

पहिलो खेलमै नेपाली महिला भलिबल टोलीको बङ्गलादेशमाथि शानदार जित

१३ औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले पहिलो खेलमै जित हात पारेको छ । सागको महिला भलिबल विधा अन्तगर्त नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरस्थित कर्भड हलमा भएको पहिलो खेलमा नेपालले बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो । नेपालले पहिलो सेटदेखि नै सन्तुलित प्रदर्शन गर्यो ।

पहिलो सेटमा २५–९ ले जित हात पारेको नेपालले लगातार तीनै सेटमा जित हात पार्यो । दोस्रो सेटमा पनि बङ्गलादेश २५–९ ले पराजित भयो । तेस्रो सेटको सुरुवातमा वापसी गरेको बङ्गलादेशले अन्त्यतिर कमजोर प्रदर्शन गर्दा तेस्रो सेट पनि गुमाउन पुग्यो । कुनै समय ६–७ ले अगाडि रहेको बङ्गलादेशलाई उछिन्दै नेपालले तेस्रो सेट समेत २५–११ ले जित हात पार्यो ।

बङ्गलादेश विरुद्धको पहिलो खेलको पहिलो सेटमा जित हात पार्ने क्रममा नेपाली टोली सहज देखिएपछि प्रशिक्षक जगदीश भट्टले दोस्रो सेटमा दोस्रो रोजाइका खेलाडीलाई अवसर दिदै कोर्ट भित्रयाउनुभएको थियो । स्पाइकर उषा भण्डारीले राष्ट्रिय टोलीका लागि सागमा डेब्यु गर्नुभयो । उहाँसँगै हिरा केसी पनि दोस्रो सेटमै प्रवेश गर्नुभयो ।

नेपालको सट रोजाई र सर्भिस पनि उत्कृष्ट रह्यो । कप्तान अरुणा शाही, प्रतिभा माली र सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा नेपालले बङ्गलादेशमाथि सहज जित हात पार्यो । नेपाली टोलीको अधिकांश सट प्रहार बङ्गलादेशले उठाउन सकेनन ।

महिला भलिबलमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा भारत र बङ्गलादेश छन् । बिहिबार भारत र नेपाल तथा श्रीलङ्का र पाकिस्तानबीच स्पर्धा हुनेछ ।

शुक्रबार भारत र बङ्गलादेश तथा श्रीलङ्का र माल्दिभ्सबीच खेल हुनेछ । शनिबार लिग चरण्णमा उत्कृष्ट हुने चार टोली सेमीफाइनल खेल्नेछन् । सोमबार तेस्रो स्थानको लागि सेमीफाइनलमा पराजित हुने दुई टोलीबीच स्पर्धा हुनेछ । र मङ्गलबार स्वर्ण पदकको लागि स्पर्धा हुनेछ ।

साग पुरुष भलिबल अन्तगर्त आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार भारतसँग स्पर्धा गर्नेछ । बिहिबार पाकिस्तान र माल्दिभ्स तथा भारत र बङ्गलादेशबीच स्पर्धा हुनेछ ।

पुरुष भलिबलमा नेपाल, भारत र बङ्गलादेश समूह ए मा रहेको छ । समूह बी मा पाकिस्तान, श्रीलङ्का र माल्दिभ्स रहेको छ । त्यसैगरी, ललितपुरको लगनखेलस्थित आर्मी फिजिकल फिटनेश सेन्टरमा ऊशु विधाका खेलहरु शुक्रबारबाट शुरु हुनेछन् । गोरखापत्र अनलाइनबाट ।

Facebook Comments