Thu. May 2nd, 2024

राज्यविरुद्ध कसुरको आरोपमा नेतृ रामकुमारी झाँक्री पक्राउ

काठमाडौं, २०७७ माघ २९ गते बिहीबार

नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उहाँलाई आज दिँउसो १ बजे आफ्नै निवासबाट पक्राउ गरेको हो ।

हालै गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप उहाँमाथि लागेको छ ।

पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

झाँक्रीको निवासबाहिर ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले आफूहरु छातीमा गोली थाप्न तयार रहेको भन्दै सरकार राष्ट्रपति र प्रधामन्त्रीको नामै लिएर नाराबाजी गरेका छन् ।

गिरफ्तारी दिनुअघि झाँक्रीले निवासबाट कार्यकर्ताहरुलाई सम्बोधन गर्नुभएको थियो । उहाँलाई प्रहरीले आफ्नो ह्यान्ड माइक दिएको थियो । उहाँले सात दशक लडेर कहिल्यै नखोसिने लोकतन्त्र ल्याएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले खोसेको आरोप लगाउनुभयो ।

उहाँले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आफूलाई राज्यविरुद्धको अपराधमा पक्राउ पूर्जी बुझाएको बताउनुभयो । सम्बोधनपछि झाँक्री प्रहरीको साथ लागेर घरबाट बाहिरिनुभएको थियो । झाँक्रीका परिवारजनले कार्यकर्ताहरुलाई शान्त रहन आग्रह गरेपनि चर्को नारावाजी भएको थियो ।

Facebook Comments