Tue. Jan 7th, 2025

पूर्खाको बलिदानले सुरक्षित नेपाली भूभाग प्राप्त गर्यौं- प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ माघ २५ गते आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा पुर्खाले लडेर सुरक्षित गरेकाले आज नेपाली भूभाग गौरवको रुपमा सुरक्षित रहेको बताउनुभएको छ ।

इतिहासको तथ्यपरक अध्ययन अनुसन्धान गरी त्यसलाई स्थापित गर्नमा आउँदो पुस्ताले कहिल्यै विर्सन नहुने उहाँले चर्चा गर्नुभयो । नेपाली सेनाको ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार २०७७’ मा आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “हाम्रो भूभाग नेपाली जनताको बहादुरीबाट कायम भएको हो, यसको अगुवाई विभिन्न व्यक्तित्वहरुले गर्नुभयो” नेपाली सेना, प्रहरी जे सेवामा भए पनि नेपाली जनताका छोराछोरी हुन, कोही बर्दी लगाएर लडे कोही नलगाएरै उहाँले थप्नुभयो, “देशको भलोका लागि धेरैले पीडा, यातना सहनु प¥यो, त्यसलाई सबैले स्मरणमा राख्नुपर्छ ।”

यो देश चिठ्ठामा परेर आएको देश नभएर हाम्रा पूर्खाका बलिदान र योगदानले प्राप्त भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सबै गढी किलाको संरक्षणको काम नेपाली सेनालाई सुम्पिएको बताउनुभयो । गत वर्षको फागुन ९ गते कालु पाण्डे गढीमा गएर आफूले सरकारको तर्फबाट त्यसको जिम्मेवारी सेनालाई दिइएको सार्वजनिक गरेको उहाँले स्मरण गर्नुभयो । गढीको विकास गरी पर्यटकीय स्थलकोरुपमा विकास गर्न सरकार लागिपरेको उहाँले प्रष्ट पार्नुभयो । कालु पाण्डे समाधिस्थल वरिपरिको गढीको विकास गरी पर्यटकीय स्थलकोरुपमा विकास भइरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले अन्य ठाउँको गढीलाई पनि सोहीअनुरुप विकास गर्देजाने बताउनुभयो । त्यसले पूर्खाको योगदानको गौरवपूर्ण इतिहास झल्काउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आज केही व्यक्तिहरुमा देशभक्ति प्रतिको कमी देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । हिजो एकीकृत राज्यलाई लडाईबाट जोगाउनुपरेको थियो, आज समय बदलियो जनताको एकताबाट बचाउन सकिन्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “एकीकरणको काम पृथ्वीनारायण शाहले शुरु गरे, उहाँ पछिका पुस्ता केहीले पनि राम्रो काम गरे ।” भीमसेन थापाले सम्हालेको मोर्चाले नेपाल जोगाउने काममा ठूलो योगदान गरेको उहाँले बताउनुभयो । भीमसेन थापाका छोरा उजिनसिंह थापाले पनि ठूलो गदान दिएको उहाँले स्मरण गर्नुभयो ।

अनेक योद्धाले लडाईका मोर्चा सम्हालेका छन्, हामी पृथ्वीनारायण शाहप्रति मात्र होइन, अमरसिंह, भिमसेन, भक्ति थापा, कालु पाण्डे, दामोदार पाण्डे लगायतका सेनाप्रति, महान पूर्खाको यथोचित सम्मान गर्नुपर्छ भन्नुभयो । हाम्रो गौरवपूर्ण इतिहास रचना गर्ने महान पूर्खाहरुको विना भेदभाव सम्मान गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “अहिले हामीले पूर्खाले लडाई गर्नुभएको ठाउँको संरक्षण गर्नुमात्र काम हो, लडाई गर्नु परेको छैन, तर पूर्वजहरुले ज्यान जोखिममा राखेर लडाई गरेर नेपाल जोगाउनुभयो” प्रधानमन्त्री ओलीले थप्नुभयो, “हामीले जति सलाम, सम्मान गरेपनि पूर्खाको तुलनामा हाम्रो काम सानो हुन्छ ।” हाम्रा पूर्खाहरु लडाई गर्दा यत्रो ठूलो सेना थिएन, यत्रो हातहतियार थिएन तर पनि लडाई लडेर नेपाली भूभाग जोगाउनुभयो चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले परम्परागत हातहतियारले लडाई लडेर पुर्खाले गौरव कायम गरेको बताउनुभयो । गोरखापत्र

Facebook Comments