Thu. May 2nd, 2024

संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुको सपथग्रहण सम्पन्न

काठमाडौं, २०७७ माघ २२ गते बिहीबार

नेपाल सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गराइएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ ग्रहण गराउन्ु भएको हो ।

प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराउनु भएको थियो भने ती आयोगमा सिफारिस गरिएका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाएका थिए । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

संवैधानिक परिषद्ले विभिन्न आयोगका ४५ जना पदाधिकारी तथा सदस्य नियुक्तिका लागि सिफारिश गर्दै संसदीय सुनुवाईका लागि संघीय संसद् सचिवालयमा पत्र पठाएको थियो । गत पुस ३ गते पठाइएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त तथा आयुक्त, निर्वाचन आयोगका आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष र सदस्यको संसदीय सुनुवाईका लागि परिषद्ले प्रतिनिधिसभामा पत्राचार गरेको थियो ।

परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य, राष्ट्रिय महिला आयोगको अध्यक्ष र सदस्य, राष्ट्रिय दलित आयोगको अध्यक्ष र सदस्य, राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र सदस्य, आदिवासी जनजाति आयोगको रिक्त अध्यक्ष र सदस्य, मधेशी आयोगको सदस्य, थारु आयोगको पदहरु र मुस्लिम आयोगको सदस्यमा नियुक्तिको लागि सिफारिश गर्दै संसदीय सुनुवाईका लागि आग्रह गरेको थियो ।

 

Facebook Comments