Sat. May 18th, 2024

ऊर्जामन्त्री पुन र युननान प्रान्तका गभर्नरबीच भेटवार्ता

काठमाडौं, २०७६ मंसिर १० गते मंगलबार ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गभर्नर रुएन छङ्फाबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा सहकार्य गरेर लगानी गर्ने विषयमा छलफल भएको नागरिकन्यूज डटकमले जनाएको छ। आइतबार काठमाडौं आएको गभर्नर नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डलले सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो।

छलफलमा गभर्नर रुएन छङ्फाले युननान प्रान्तले नेपालको ऊर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। ऊर्जामन्त्री पुनले तामाकोसी जलविद्युत् आयोजनामा युनानको प्रान्तीय सरकारले नै लगानी गर्ने खबरले हर्षित भएको बताउँदै अन्य जलविद्युत् आयोजनामा पनि लगानी गर्न अनुरोध गर्नुभएको थियो।

‘युननान सरकारले तामोकोसी जलविद्युत् परियोजनामा ८० प्रतिशत लगानी गर्ने जानकारी पाएका छौं,’ उहाँले भन्नु भयो, ‘जुन निकै खुसीको खबर हो।’ मन्त्री पुनले सरकारले जलविद्युत्को क्षेत्रमा उदार नीति लिएको भन्दै नेपालको जलविद्युत्मा क्षेत्रमा ढुक्क भएर लगानी गर्न अनुरोध गर्नुभयो। ‘हामीले जलविद्युत् क्षेत्रमा लचिलो खालको नीति लिएका छौं। पहिलो १० वर्षमा आयकर समेत छुटको व्यवस्था गरिएको छ,’ मन्त्री पुनले भन्नु भयो, ‘नेपालमा विद्युत्को खपत बढ्नुका साथै छिमेकी मुलुकमा पनि बजारीकरणको काम भइरहेको ढुक्क भएर लगानी गरे हुन्छ।’ भारत र बंगलादेशमा विद्युत् व्यापारको लागि ढोका खोलेको भन्दै नेपालमा पनि बजार निर्माण भइरहेको मन्त्री पुनको भनाइ छ।

मन्त्री पुनले चार वर्षभित्र पाँच हजार मेगावाट बिजुली उत्पादन हुने जानकारी दिँदै नेपालले जलविद्युत् क्षेत्रमा प्रगति गरिरहेको दाबी गर्नुभयो। युनान प्रान्तका गभर्नर रुएन चेङ्गफाले आफू पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सम्झौता कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको भन्दै युनान प्रान्तको सरकार नेपालमा कृषि, ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो।

उहाँले नेपाल र चीनबीच पुरानो मित्रता रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। गर्भनर चेङ्गफाले तामाकोसी ३ जलविद्युत् आयोजनामा युननान सरकारले लगानी गरेको भन्दै यो आयोजना सुरुमात्र भएको र आगामी दिनमा युनानले जलविद्युत् क्षेत्रमा थप लगानी गर्ने बताउनु भयो।

Facebook Comments