निर्वाचन प्रहरीको पोसाक खरिद छानबिन तीव्र, मङ्सिर १ देखि बयान सुरु
- पोसाक खरिद अध्ययन उपसमितिले कार्यसूची टुङ्ग्यायो ।
- मङ्सिर १ देखि १५ गतेसम्म बयान र अन्तर्वार्ता लिइने ।
- मङ्सिर २० गतेसम्म प्रतिवेदन बुझाउनुपर्ने ।
काठमाण्डू । निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न गठित उपसमितिले अध्ययनको कार्यसूचीलाई अन्तिम रूप दिएको छ ।
सिंहदरबारमा आज बसेको उपसमितिको बैठकले कात्तिकभित्र विभिन्न दस्तावेज अध्ययन गर्ने निर्णय गरेको छ ।
उपसमितिका संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आगामी मङ्सिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्षको बयान तथा अन्तर्वार्ता लिने र विषयविज्ञसँग छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो । प्रतिवेदन लेखनका लागि अन्तिम पाँच दिन छुट्याइएको उहाँले बताउनुभयो ।
उपसमितिले यसअघि नै अध्ययनको कार्यअवधि र कार्यविधि निर्धारण गरिसकेको छ । उपसमितिलाई दुई महिनाको समय दिइएको छ । आगामी मङ्सिर २० गतेसम्म प्रतिवेदन बुझाइसक्नुपर्नेछ ।
उपसमितिमा सांसदहरू खगेन्द्र सुनार, गणेश धिमाल, योगेश गौचन थकाली, ऐन महर, रमेशकुमार मल्ल, महेन्द्रबहादुर शाही, आरेन राई र खुश्बु ओली सदस्य हुनुहुन्छ ।
रास्वपा सांसद सुनारले गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै छानबिनको माग गर्दै आउनुभएको थियो ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गत असोज १६ गते सांसद झाको संयोजकत्वमा प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न नौ सदस्यीय उपसमिति गठन गरेको हो । रासस

