२०८३ कार्तिक १२, बिहीवार

प्रेस स्वतन्त्रता खोस्न नदिने, मिडियाको दुरुपयोग पनि रोक्ने कानुन बनाउँदै सरकार

       
  • प्रेस स्वतन्त्रता संवैधानिक अधिकार हो, कसैले खोस्न सक्दैनः मन्त्री तिमिल्सिना ।
  • मिडियाको दुरुपयोग रोक्ने र सरकारी हस्तक्षेप हुन नदिने कानुन बनाउन जोड ।
  • आमसञ्चार विधेयकको मस्यौदामा सरोकारवालाका सुझाव लिइँदै ।

काठमाण्डू । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदामाथि मन्त्रालयमा आज आयोजित सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफलमा उहाँले प्रेस स्वतन्त्रता र त्यसको दुरुपयोगबीचको सीमा स्पष्ट पार्ने कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

कानुन र सञ्चारमाध्यम लोकतान्त्रिक समाजका महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले दुवैबीचको सम्बन्धलाई जिम्मेवार ढङ्गले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कानुनले राज्यका बाध्यकारी नियम र संस्थागत व्यवस्थालाई प्रतिनिधित्व गर्ने तथा सञ्चारमाध्यमले नागरिकलाई सूचना प्रदान गर्ने, सार्वजनिक बहसलाई सहजीकरण गर्ने र सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले सञ्चारमाध्यमले सम्प्रेषण तथा सम्पादन गरेका सामग्रीलाई आफू पनि उपभोक्ता र सर्वसाधारण नागरिक भएको दृष्टिकोणबाट हेर्न पत्रकारहरूलाई सुझाव दिनुभयो । पत्रकारिता समाजको जिम्मेवार र सामाजिक उत्तरदायित्वपूर्ण कार्य भएकाले आफ्ना कामको मूल्याङ्कन आफैँले पनि नागरिक तथा उपभोक्ताका रूपमा गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसरी काम गर्न सके संविधानप्रदत्त प्रेस स्वतन्त्रता र नागरिकको वैयक्तिक स्वतन्त्रताको दुरुपयोग नहुने उहाँको तर्क थियो ।

“प्रेस स्वतन्त्रता त संवैधानिक अधिकार हो, कसैले खोस्न सक्दैन । अब अर्को संविधान आउँदा पनि यो अधिकारको हनन हुनेवाला छैन, तर प्रेसले पनि संविधानले दिएको स्वतन्त्रताको यो अधिकारको दुरुपयोग गर्नु हुँदैन, यसको सम्मान गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

कानुन र मिडियाबीचको अन्तरसम्बन्ध संवेदनशील हुने भएकाले एकअर्काको मर्यादा र दायराभित्र रहेर परिभाषित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“कुनै पनि देशको प्रजातन्त्र र मिडिया एकअर्काका परिपूरक रहेका कारणले नै यी दुवै कस्ता अर्थात् कत्तिको लोकतान्त्रिक र उत्तरदायी छन् भन्ने कुरा यिनैका कर्म र व्यवहारले निर्धारण गर्ने गर्दछ । त्यसैले अधिकारप्राप्त हुनु भनेको उत्तरदायी हुनु हो, सबैप्रति जवाफदेही हुनु हो”, मन्त्री तिमिल्सिनाले भन्नुभयो ।

मिडिया र राजनीति दुवै अपेक्षाअनुसार स्वस्थ नरहेको उल्लेख गर्दै उहाँले सबैले आफूलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रेस जगत्को स्वतन्त्रता तथा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मिडियाले खोजेको र राष्ट्रिय आवश्यकताअनुसारको आमसञ्चार कानुन निर्माणमा सरकार लागेको उहाँले स्पष्ट पार्नुभयो ।

कानुन निर्माणका क्रममा सरोकारवाला सबैको सहभागिता र परामर्श आवश्यक रहेको भन्दै उहाँले विभिन्न चरणमा छलफल गर्नुपर्ने बताउनुभयो ।

“विधि बनाउने मन्त्री, कर्मचारी या कुनै नेताले नभएर सबै मिलेर हो, सम्बद्ध सबैको सरोकार र सहभागिता आवश्यक छ । त्यसैले आमसञ्चार कानुन यस्तो बनोस् कि मिडियाले पनि त्यसको दुरुपयोग नगरोस् र सरकारले पनि मिडियाका अधिकारको हनन गर्न नसकोस्”, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदालाई सरोकारवालाका सुझावका आधारमा परिमार्जन गरी थप परिष्कृत बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आमसञ्चार क्षेत्र संवेदनशील र बहुआयामिक भएकाले सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र विधेयकलाई अन्तिम रूप दिइने उहाँले बताउनुभयो ।

विधेयकको प्रारम्भिक मस्यौदामाथि आज भएको छलफल तथा अन्तरक्रियामा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिले सुझाव दिएका थिए । रासस

Facebook Comments