२०८३ कार्तिक ६, शुक्रवार

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

       
  • बङ्गालको खाडीको न्यूनचापीय प्रणालीले वर्षा र हिमपात गराउने ।
  • कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना ।
  • देशभर अधिकतम र न्यूनतम तापक्रम घट्ने अनुमान ।

 काठमाण्डू । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ । यससँगै देशका विभिन्न क्षेत्रमा चिसो बढ्ने अनुमान गरिएको छ ।

विभागका मौसमविद् राजन महर्जनका अनुसार साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ । साताको अन्त्यमा भने बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभाव देखिनेछ ।

“साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपात हुनसक्छ”, उहाँले भन्नुभयो, “लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको तथा एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।”

महर्जनका अनुसार साताको सुरु र मध्यमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ ।

पहाडी भूभागमा साताको सुरु र मध्यमा सबै प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साताको अन्त्यमा पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हुनसक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको अनुमान छ ।

तराईका भूभागमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन । साताको अन्त्यमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने मौसमविद् महर्जनले बताउनुभयो ।

उहाँका अनुसार साताको अन्त्यमा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने भूभागका थोरै स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

आगामी सातामा देशका विभिन्न भूभागको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो ।रासस

Facebook Comments