घमाइलो मौसममा रमाइलो दशैं
गाडी कुरिरहेका सर्वसाधारण दाङ, ४ कात्तिकः दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भानु चोकमा बडादशैँको टीका लगाउन गन्तव्यतर्फ जान गाडी कुरिरहेका सर्वसाधारण। तस्बिरः कुलदीप न्यौपाने÷रासस
- मौसम खुलेपछि दशैंमा घर जाने यात्रु उत्साहित ।
- वर्षा नहुँदा सडक यातायात र आवतजावत सहज ।
- आगामी साता वर्षा हुन सक्ने, आधिकारिक सूचना हेर्न आग्रह ।
प्रगति ढकाल/काठमाण्डू । दशैं आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो – यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दशैंअघि लगातार परेको वर्षाले उहाँमा बाटो बिग्रिने र यात्रा कष्टकर हुने आशङ्का उब्जाएको थियो । विगतका दशैंमा झरीले दिएको सास्ती सम्झँदा यसपटक पनि घर जाने यात्रा सहज हुनेमा उहाँ ढुक्क हुन सक्नुभएको थिएन ।
तर, दशैं नजिकिँदै जाँदा मौसम खुल्यो । आकाशमा घाम लाग्यो र दिन उज्यालो हुँदै गए । घर जाने बाटो सहज हुने भएपछि राईको मन फुरुङ्ग भयो ।
“प्रायः दशैंमा र दसैँको अघिपछि वर्षा हुँदा जानआउन नै सास्ती खेप्नुपर्थ्यो । यस पटक त त्यस्तो भएन, रमाइलो लागिरहेको छ”, उहाँ भन्नुहुन्छ, “दशैंमा खुलेको मौसमले मन रमाउनुका साथै आवतजावतका लागि बाटो सहज हुने रहेछ ।”
चाडपर्व घर फर्किने बहाना र आफन्त तथा प्रियजन भेट्ने अवसर पनि हुन् । त्यसमाथि घमाइलो मौसममा रमाइलो गर्दै यात्रा गर्नुको मज्जा बेग्लै हुन्छ । दसैँमा घाम लाग्नु वा पानी पर्नु सामान्य मौसमी घटना जस्तो देखिए पनि घर जाने तयारीमा रहेका मानिसका लागि यसको अर्थ फरक हुन्छ । मौसमले धेरैको चाडपर्व मनाउने उत्साह र योजनालाई प्रभावित पार्छ ।
सिन्धुलीका अमित तिमिल्सिनाले भने यसपटकको दशैं उपत्यकामै बिताउनुभयो । अघिल्लो वर्षको दशैंमा परेको झरीले दिएको सास्ती उहाँको मनमा ताजै थियो । त्यसैले यस वर्ष पनि त्यस्तै अवस्था दोहोरिन सक्ने अनुमान गर्दै उहाँले घर जाने योजना बनाउनुभएन ।
“यस वर्ष पनि झरी पर्यो भने सास्ती खेप्नुपर्ला कि भनेर उपत्यकामै बस्ने योजना बनाएँ । तर अहिले दसैँको मौसम राम्रो भएपछि घर जानुपर्ने रहेछ भन्ने लागिरहेको छ”, उहाँ भन्नुहुन्छ ।
तिमिल्सिनाजस्तै घर जाने इच्छा हुँदाहुँदै पनि बाटोको अवस्था र वर्षाको सम्भावनाले निर्णय लिन कठिन हुने धेरै छन् । अध्ययन र जागिरका सिलसिलामा उपत्यकामा बस्दै आएका उनीहरूलाई यसपटक आकाश खुलेर मौसम घमाइलो भएपछि घर नगएकोमा पछुतो लागेको छ ।
ललितपुरको गोदावरीकी कृतिका घिमिरेलाई भने यसपटक उपत्यकाबाहिर यात्रा गर्नुपर्ने थिएन । उहाँका लागि दसैँमा मौसम खुल्नुको अर्थ केही फरक थियो । उपत्यकाभित्रै आवतजावत गर्न पनि वर्षाले असहज बनाउने अनुभव उहाँसँग छ । झरी पर्दा बाटो हिलो हुने, सवारीसाधनमा यात्रा गर्न कठिन हुने र दैनिक कामकाजसमेत प्रभावित हुने भएकाले मौसम सफा हुँदा सहज महसुस हुने घिमिरे बताउनुहुन्छ ।
यसरी हेर्दा दसैँको मौसमले उपत्यका छाडेर घर जाने यात्रुलाई मात्र होइन, यहीँ बसेर चाडपर्व मनाउनेलाई पनि प्रभाव पार्छ । घाम लाग्दा बाहिर निस्कन, आफन्तकहाँ जान र दसैँको चहलपहलमा सहभागी हुन सहज हुन्छ । मौसम अनुकूल हुँदा सहरको दैनिकीसमेत सहज र उल्लासमय बन्छ ।
गोदावरीकै कर्ण घिमिरेको अनुभवमा भने दसैँ र मौसमबीचको सम्बन्ध लामो समयदेखि देखिँदै आएको छ । उमेरले आठ दशक पार गरिसक्नुभएका उहाँले जीवनमा धेरै दसैँ मनाउनुभएको छ । उहाँको सम्झनामा ढिलो गरी आउने दसैँमा प्रायः मौसम राम्रो हुने र छिटो आउने दसैँमा झरी पर्ने गरेको छ ।
“पहिलापहिलाका अग्रजले पनि छिटोभन्दा दसैँ त ढिला आएको जाति हुन्थ्यो, बर्खे दसैँ त रमाइलो नै हुन्न भन्नुहुन्थ्यो । मेरो पनि सोही अनुभव छ”, उहाँ भन्नुहुन्छ ।
गत वर्षको झरीले दिएको सास्ती
दसैँको मौसम सधैँ एउटै हुँदैन । गत वर्ष दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारण दसैँ मनाउन गाउँ फर्किएका थिए । निधारमा रातो टीका र जमरा लगाएर ओहोरदोहोर गर्ने क्रम जारी थियो । आफन्तको हातबाट टीका थाप्न जान बाँकी नै थियो ।
यही उल्लासमय समयमा आएको एउटा सूचनाले सर्वसाधारणलाई झस्कायो । नेपाल मौसम विज्ञान विभागले गत वर्ष असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने तथा बाढीपहिरोको जोखिम रहने भन्दै जो जहाँ छ, त्यहीँ सुरक्षित रहन सन्देश जारी गरेको थियो ।
त्यसपछि अन्य अन्तरसरकारी निकायले पनि विभागको सूचनालाई अनुसरण गर्दै विपद् व्यवस्थापनको पूर्वतयारी थाले । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनको आवागमन आगामी तीन दिनसम्म रोक्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि उपत्यका छाडेर गाउँ जाने तयारीमा रहेका धेरै सर्वसाधारण अलपत्र परे । सवारीसाधनको आवागमन बन्द हुँदा कैयौँले आफन्तजनको हातबाट टीका लगाउन पाएनन् ।
यस वर्षको दसैँ अवधिमा वर्षाजन्य विपद् नभएकोमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती खुसी हुनुहुन्छ ।
“गत वर्ष जस्तो वर्षा नभएकाले आवतजावतमा खासै समस्या भएन, वर्षाकै कारण कुनै विपद् भोग्नुपरेन”, उहाँ भन्नुहुन्छ, “यद्यपि गत भदौ १० को रसुवा भोटेकोशी र असोज २५ को गोरखा बुढीगण्डकी बाढीले दिएको विपद्को पीडा भने बाँकी नै छ ।”
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता नरेशराज सुवेदीले यस वर्ष दसैँमा वर्षा नभएका कारण सडक अवरुद्ध हुने, ट्राफिक चाप बढ्ने तथा बाटो हिलो भएर सवारीसाधन आवतजावतमा समस्या हुनेजस्ता चुनौती नरहेको बताउनुभयो ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले यस वर्ष घमाइलो मौसमका कारण अपेक्षा गरेभन्दा बढी सर्वसाधारण उपत्यकाबाहिरिएको जानकारी दिनुभयो ।
“यस वर्ष भोटेकोशी र बुढीगण्डकी बाढीको विपद्ले दिएको पीडा र सडकको अवस्थाका कारण मानिस उपत्यका छाडेर बाहिरिनेको सङ्ख्या सात लाख हाराहारीमा होला भन्ने सोचेका थियौँ, तर ११ लाख हाराहारी बाहिरिएका छन्”, उहाँले भन्नुभयो ।
मनसुन बाहिरिएकाले अनुकूल मौसम
यस वर्ष दसैँअघि नै सर्वसाधारणले मौसम कस्तो हुन्छ भनेर फोन गर्ने गरेको नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकाल बताउनुहुन्छ ।
“दसैँमा मौसम कस्तो रहला भन्ने चासो सर्वसाधारणमा हरेक वर्ष हुन्छ । यस वर्ष पनि दसैँको मौसम कस्तो होला भनेर सर्वसाधारणको फोन आउँथ्यो”, उहाँ भन्नुहुन्छ, “यस वर्ष भने दसैँको अवधिमा मौसम अनुकूल रह्यो । अधिकांश स्थानमा वर्षा नहुँदा घर जाने र फर्किने यात्रुले विगतका वर्षमा जस्तो झरीको सास्ती खेप्नुपरेन ।”
ढकालका अनुसार फूलपातीको अघिल्लो दिन सङ्खुवासभा, झापा, लमजुङ, कास्की र स्याङ्जाका केही स्थानमा हल्का वर्षा भए पनि त्यसले जनजीवन र सडक यातायातमा उल्लेख्य प्रभाव पारेन ।
“यस वर्ष दसैँका बेला मनसुन बाहिरिसकेको र पश्चिमी वायुको प्रभावसमेत नरहेकाले वर्षा भएन । दसैँ छिटो पर्दा भने मनसुन पूर्णरूपमा बाहिरिइसकेको नहुन सक्छ”, उहाँले भन्नुभयो, “मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु सक्रिय भयो भने वर्षा हुन सक्ने भएकाले दसैँको मौसम सधैँ एउटै हुँदैन ।”
साता दिनपछि वर्षा हुन सक्छ, सतर्क रहन आग्रह
नेपाल मौसम विज्ञान विभागले आगामी साता मङ्गलबारदेखि मुलुकका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । यसले दसैँ मनाएर उपत्यका फर्कने यात्रुलाई केही असहजता हुन सक्ने देखिएको छ ।
विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले वर्षा हुन सक्ने सम्भावना रहे पनि अहिले नै त्रसित हुन आवश्यक नरहेको बताउनुभयो ।
“अर्को साता मङ्गलबार वर्षा हुन सक्ने सम्भावना देखिएको छ, तर कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ भन्ने निश्चित छैन”, उहाँले भन्नुभयो, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाएको खबरले किसान त्रसित देखिन्छन् । प्रणाली परिवर्तन भइरहने भएकाले अहिल्यै त्रसित हुनुपर्दैन ।”
महर्जनका अनुसार तीन दिनसम्मको मौसम पूर्वानुमान धेरै हदसम्म मिल्ने भए पनि सात दिनसम्मको पूर्वानुमान सधैँ मिल्छ भन्ने हुँदैन ।
“केही दिनपछि मात्रै हामी आगामी साता हुने वर्षाबारे सूचना सम्प्रेषण गर्नेछौँ । वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै ग्रहण गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो । रासस

