बडादशैंँको तेस्रो दिन पनि टीका र जमरा लगाउने क्रम जारी, काठमाडौँ उपत्यकामा चहलपहल बढ्यो
- विजयादशमीको तेस्रो दिन पनि मान्यजनबाट टीका र जमरा लगाइँदै ।
- कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा ।
- सवारीसाधन र सर्वसाधारणको चहलपहल बढ्दै ।
काठमाण्डू । विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र जमरा लगाएर बडादशैंँ मनाइँदैछ । नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम आज पनि जारी छ । विजयादशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने परम्परा छ ।
गत बुधबार बडादशैंँको मुख्य दिन अर्थात् विजयादशमी थियो । त्यस दिन टीका थाप्न नभ्याएका तथा अन्यत्र रहेका आफन्त र मान्यजनकहाँ जानुपर्नेहरू बिहीबार एकादशी र आज द्वादशीमा पनि टीका थापिरहेका छन् । बडादशैंँको मुख्य टीका बुधबार लगाइए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने तथा दशैंँ मनाउने प्रचलन छ ।
विजयादशमीको तेस्रो दिन आज काठमाण्डू उपत्यकामा सर्वसाधारणको चहलपहल केही बढेको देखिएको छ । दशैंँका बेला सुनसान बनेको उपत्यकामा आफन्त र मान्यजनकहाँ टीका लगाएर फर्कनेहरूको सङ्ख्या बढेसँगै चहलपहल बढेको हो ।
काठमाण्डूबाट लामो तथा छोटो दूरीका सवारीसाधन पनि हिजोको तुलनामा आज बढी सञ्चालन भएका छन् । यसले टीका थाप्न आफन्त तथा मान्यजनकहाँ जानेहरूलाई सहज भएको छ । बाहिरबाट काठमाण्डू भित्रिने सवारीसाधनको सङ्ख्या बढेसँगै सडकमा सवारीसाधन र सर्वसाधारणको चहलपहल पनि बढेको छ । रासस

