२०८३ कार्तिक ४, बुधवार

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो   

सात दशकपछि थिमिमा जीवित देवी कुमारी जात्रा भक्तपुर, ४ कात्तिक: भक्तपुरको मध्यपुर थिमिमा बडादसैँका अवसरमा सञ्चालन गरिने जीवित देवी कुमारीको जात्रा । करिब सात दशकदेखि रोकिएको यो जात्रा बुधबार टीकाका दिन पुनः सञ्चालन गरिएको छ । बुवा सुरेश बज्राचार्यको मध्यपुर थिमि चपाचोस्थित घरबाट सुरु भएको जात्रा हात्तीमहाकाल, दुईपोखरी, लायकू, बालकुमारी परिक्रमापछि पुनः घरमै पुगेर समापन गरिएको थियो । तस्वीर: रत्न श्रेष्ठ/रासस

       

भक्तपुर ।  विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् ।

विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाउनुभएको थियो ।

त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाउनुभएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

यसरी नाइके, गुरु, पुरोहितलगायतले टीका लगाएपछि सर्वसाधारणका लागि खुला गरिएको टीका ग्रहणको काम सुरु भएको तलेजुका पूर्वमुल नाइके जोशीले बताउनुभयो ।

एकान्त कुमारी लुनिभाको हातबाट टीका स्थानीय भक्तजन एवं आमसर्वसाधारणले टीका ग्रहण गर्नुभएपछि दुर्गा बिसर्जनसहित तलेजु भवानीलाई दसैँ घरबाट मूलचोक दक्षिण देवगृहमा भित्र्याइएको उहाँले जानकारी दिनुभयो । फूलपातीको दिन तलजुलाई देवगृहबाट मूलचोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो ।

राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरुले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक आज देवगृहमा भित्र्याउनुभएको जोशीले जानकारी दिनुभयो । भक्तपुरस्थित तलेजु यात्राका क्रममा १९ जना पुजारीले परम्परागत रुपमा लगाइँदैआएको जामा, पगरी, भोटो, खास्टोसहितको वस्त्र धारण गरी देवीदेवतालाई दसैँघरमा भित्र्याउनुभएका हो । रासस

Facebook Comments