२०८३ कार्तिक ४, बुधवार

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह   

सन् २०२६ अक्टोबर ३ मा, राजधानी तिरानाबाट करिब ८० किलोमिटर टाढा कुकोभ (Kucove) नजिकैको फेरास (Ferras) गाउँमा रहेको आफ्नो घरको बगैंचामा, ११७ वर्षीया कामिले मारा (Qamile Marra) ले एएफपी (AFP) सँगको अन्तर्वार्ताका क्रममा आफ्नो युवावस्थाको एउटा श्यामश्वेत तस्बिर समातेकी छिन्। ११७ वर्षको उमेरमा, कामिले माराको प्राथमिकता आफू संसारकै सबैभन्दा वृद्ध महिला हुँ भनी प्रमाणित गर्नु, वा आफू जीवितै रहेको कुरा अल्बानियाका पेन्सनसम्बन्धी अधिकारीहरूलाई विश्वास दिलाउनु होइन। ओटोमन शासनकालमा जन्मिएकी, दोस्रो विश्वयुद्ध समाप्त हुनुभन्दा दुई हप्ता अघि ३६ वर्ष पुगेकी र अल्बानियाको कम्युनिस्ट तानाशाही शासनभन्दा लामो आयु बाँचेकी यी महिलाको मुख्य ध्यान भने जीवनको आनन्द लिनमै केन्द्रित छ। (तस्बिर: अदनान बेसी / एएफपी)

       

कुओभा (अल्बानिया) । अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुनुहुन्छ । तर उहाँलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ । उहाँको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनुहुनेछ । क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ ।

दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुग्नुभएकी मार्राले ओटोमन शासनदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका परिवर्तन देख्नुभएको छ । राजधानीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उहाँ फलफूलका रूखले घेरिएको घरमा आफ्नै खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने काम गर्नुहुन्थ्यो । “जीवन सुन्दर छ, माउन्ट टोमोरजस्तै फुलेको छ”, उहाँले मुस्कुराउँदै भन्नुभयो । उहाँको विश्वास छ, “भगवान्ले जति समय बाँच्न लेख्नुभएको छ, मानिस त्यतिन्जेल बाँच्छ ।”

उहाँको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालैको परिचयपत्र परिवारसँग सुरक्षित छन् । सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ । उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आइजी नोबेल पुरस्कार पाएको एक अध्ययनले पनि औँल्याएको थियो ।

मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार, आमाको उमेर १०० वर्ष पुग्दा स्थानीय अधिकारीहरूले उहाँ जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकेका थिए । त्यसपछि साक्षीको बयानसहित प्रमाण पेस गरेपछि मात्र पेन्सन पुनः सुरु भएको थियो । यसै महिनाको सुरुमा सरकारले उहाँको उमेरलाई मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ ।

मार्रा अझै बिहान उठेर आँगन सफा गर्नुहुन्छ, फूलमा पानी हाल्नुहुन्छ र कफी पिउनुअघि कुखुरालाई दाना दिनुहुन्छ । छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्नुहुन्छ र सुगन्ध लिन तुलसीका पात खल्तीमा राख्नुहुन्छ । छोराका अनुसार उहाँको स्वास्थ्य राम्रो छ र उहाँले कहिल्यै औषधि लिनुभएको छैन ।

श्रीमान्को निधन भएको ३६ वर्ष बितिसक्दा पनि उहाँ सँगै बिताएका दिन सम्झेर मुस्कुराउनुहुन्छ । परिवारले मिलाइदिएको विवाह मायालु रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नत्र म उहाँसँग सात सन्तान कसरी जन्माउन सक्थेँ र ?”

मार्राले परिवारका पाँच पुस्ता हुर्किएको देख्नुभएको छ । आफन्त र साथी गुमाउँदाको पीडा सम्झँदा उहाँ भावुक बन्नुहुन्छ, तर परिवारका सदस्य घर आउँदा खुसी हुनुहुन्छ । “मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु”, उहाँले भन्नुभयो । युवावस्थाको सम्झनाका रूपमा उहाँसँग सेतो पछ्यौरा लगाएको आफ्नै तस्बिर छ । उक्त तस्बिर झन्डै एक शताब्दी पुरानो हो । एएफपी

Facebook Comments