दशैंँ मनाउन काठमाण्डू उपत्यका छाड्ने ५ लाख ७६ हजारभन्दा बढी
- घटस्थापनादेखि ५ लाख ७६ हजार ५७८ जना बाहिरिए ।
- ७९ हजार ६७६ वटा सवारीसाधनबाट यात्रु बाहिरिएका हुन् ।
- यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी परिचालन ।
काठमाण्डू । बडादशैंँ मनाउन काठमाण्डू उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख ७६ हजार नाघेको छ । घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका छन् ।
काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रु बाहिरिएका हुन् । दशैंँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि प्रमुख नाकामा यात्रुको चाप बढेको छ ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा चाप बढेको उहाँले बताउनुभयो ।
दशैंँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यी नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक प्रहरीले आवागमन व्यवस्थापनमा विशेष ध्यान दिएको छ ।
चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताउनुभयो । यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो ।
“यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो”, उहाँले भन्नुभयो ।
चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । यात्रु र चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो ।
दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् । उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेसँगै राजधानीका सडक, बसपार्क तथा बाहिरी नाकामा चहलपहल बढेको छ । रासस

