बेनी-जोमसोम-कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न चार अर्बसम्म लाग्ने
- बाढी र पहिरोले सडकका ६० ठाउँमा क्षति ।
- म्याग्दी खण्डको ३३ किलोमिटर सडक बढी प्रभावित ।
- पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान ।
सन्तोष गौतम/म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण सडक क्षतविक्षत भएको हो । सडक पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी-जोमसोम-कोरला सडक योजनाले जनाएको छ ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको वा भत्काएको छ भने ५० ठाउँमा पहिरोले क्षति पुर्याएको छ ।
“८० देखि ९० करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा ल्याउन थप तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिरो र नदी नियन्त्रणसँगै यसअघि डिबिएसडी कालोपत्र भएको सडकको म्याग्दी खण्डमा अक्सफाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने भएको छ ।”
पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये म्याग्दी खण्डको ३३ किलोमिटर दूरीमा सबैभन्दा बढी क्षति पुगेको छ । यसअघि पहिरो र कटानको जोखिम रहेका ठाउँका साथै नयाँ स्थानमा पनि कटान र पहिरो गएको छ ।
सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले विसं २०७३/७४ मा निर्माण सुरु भएको बेनी-जोमसोम-कोरला सडकमा हालसम्मकै धेरै क्षति भएको बताउनुभयो । योजनाका संस्थापक प्रमुखसमेत रहनुभएका सुवेदीले म्याग्दी खण्डमा हालै स्तरोन्नति गरिएको सडकमा धेरै क्षति पुगेको जानकारी दिनुभयो ।
यसअघि म्याग्दी खण्ड पार गर्न एक घण्टा तीन मिनेट लाग्ने गरेकामा बाढीपहिरोपछि तीनदेखि चार घण्टा लाग्ने गरेको छ । पर्वतको फर्से, केराबारी र लामाबगर तथा म्याग्दीको तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइँठेभिर, खामभित्ता र सुकेबगर क्षेत्रमा पहिरो तथा कटानले ठूलो क्षति गरेको छ ।
कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलको अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिएको छ । पहिरो र कटान भएका ठाउँमा एकतर्फी सवारीसाधन चल्ने गरी मार्ग खोलिएको छ । यसले गर्दा सवारीसाधन फस्ने र जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
कोरला नाका जाने-आउने कन्टेनर, नाकाबाट भित्रिने सवारीसाधन तथा मुस्ताङ जाने-आउने पर्यटक र स्थानीयवासीको चाप बढी हुने गरेको छ ।
कोरला नाका, पर्यटन र आन्तरिक यातायातका दृष्टिले बेनी-जोमसोम-कोरला सडक महत्वपूर्ण मानिन्छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गर्नुभएका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले भौतिक संरचनाको पुनर्निर्माणमा सरकारले बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको थियो । रासस

