चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्ध र आणविक निशस्त्रीकरणमा छलफलको सङ्केत
- चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प ।
- युक्रेन युद्ध र आणविक निशस्त्रीकरणबारे छलफल हुन सक्ने ।
- त्रिपक्षीय बैठकबारे ठोस सहमति नभएको क्रेमलिनको भनाइ ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताउनुभएको छ । उहाँले सम्भावित बैठकमा आणविक निशस्त्रीकरण र युक्रेन युद्धबारे छलफल हुन सक्ने सङ्केत गर्नुभएको छ ।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गर्नुभएको छ । उहाँको यस भनाइले वासिङ्टन र किएभबीचको मतभेद थप उजागर गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठकको सम्भावनाबारे चर्चा भए पनि कुनै ठोस सहमति नभएको बताउनुभएको छ । नोभेम्बर १८ र १९ मा सेन्जेनमा हुने सम्मेलनमा तीनै देश सहभागी हुँदैछन् । चिनियाँ विदेश मन्त्रालयले भने सम्भावित भेटबारे आफूलाई जानकारी नभएको जनाएको छ ।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले किएभको सहभागिताबिना हुने बैठकले पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहित गर्ने चेतावनी दिनुभएको छ । पेस्कोभले पनि अन्तिम शान्ति सम्झौताका लागि युक्रेनी प्रतिनिधिको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
यसैबीच, रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । सोमबार खार्किभ क्षेत्रमा रुसी ड्रोन प्रहार हुँदा बालबालिकासहित छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । युक्रेनले अमेरिकाले महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध नगराएको आरोपसमेत लगाएको छ । एएफपी

