२०८३ आश्विन ३१, शनिवार

घरघरमा फूलपाती भित्र्याइयो, दसैँको रौनक बढ्दै

       
  • नवदुर्गाको प्रतीक नवपत्रिका शास्त्रीय विधिअनुसार पूजा कोठा र दसैँघरमा भित्र्याइयो ।
  • गोरखाबाट ल्याइएको फूलपाती बाजागाजा र सांस्कृतिक झाँकीसहित हनुमानढोकामा पुर्‍याइयो ।
  • सरकारी बिदा सुरु भएसँगै घर फर्किने र दसैँको किनमेल गर्नेको चहलपहल बढ्यो ।

 काठमाण्डू । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज अपराह्न घरघरका पूजा कोठा तथा दसैँघरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ ।

दुर्गा पक्षअन्तर्गत प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वमा घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने परम्परा छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गाको आह्वान गरी पूजाआजा गरिने दसैँघर वा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नवपत्रिकाका नामले समेत चिनिने फूलपाती नवदुर्गाका नौवटी देवीको प्रतीकका रूपमा भित्र्याएर शास्त्रीय विधिअनुसार शक्तिको आराधना गर्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइत आवश्यक नपर्ने समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले बताउनुभयो ।

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर समुदायका छ जनाले फूलपाती ल्याउने र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण समुदायका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिनुभयो ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा तथा सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याइएको थियो । यस वर्ष नागार्जुनस्थित शार्दूलजङ्ग गुल्मबाट आएको सशस्त्र प्रहरीको समूह र मङ्गलधुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाँले बताउनुभयो ।

हनुमानढोका दरबारको नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइएको हो ।

राजतन्त्र रहँदासम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजा पनि उपस्थित हुने गर्नुहुन्थ्यो । गणतन्त्र स्थापनापछि कहिले संस्कृतिमन्त्री त कहिले सचिव उपस्थित हुने गरेकोमा यस वर्ष मन्त्री र सचिव उपत्यकाबाहिर रहनुभएकाले संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानाङ्गलगायत अधिकारी सहभागी भएको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

हनुमानढोकामा भित्र्याउन आज बिहानको साइतमा गोरखाबाट फूलपाती काठमाडौँ ल्याइएको थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखाबाट फूलपाती ल्याएर भित्र्याउने परम्परा सुरु भएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल आजदेखि अझ बढेको छ ।

सरकारी कार्यालयमा पनि आजदेखि बिदा सुरु भएकाले विभिन्न पेसा तथा व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादस्वरूप टीका थाप्न आ-आफ्नो घर फर्कने क्रम तीव्र भएको छ ।

नेपालका ग्रामीण भेगमा आजैदेखि दोबाटो, चौतारो र चौबाटोमा हालिने लिङ्गे पिङ र रोटेपिङले दसैँको रौनक बढाउने गर्छन् । बजारमा पनि किनमेल गर्नेको भीड देखिएको छ । विशेषगरी खाद्यसामग्री, कपडा, जुत्ता र चप्पलका पसलमा मानिसको चहलपहल बढेको छ । रासस

Facebook Comments