कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा
कांग्रेस महाधिवेशनमा प्रचारप्रसार काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको आईतबारदेखि जारी १५औँ महाधिवेशनको चौथो दिन बुधबार बन्दसत्रमा सम्बोधन गर्दै सभापति गगनकुमार थापा । तस्वीर : किरणराज बिष्ट /रासस
- महाधिवेशनपछि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता ।
- गुटगत विभाजन अन्त्य गरी एउटै पार्टीका रूपमा अघि बढ्ने भनाइ ।
- स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने घोषणा ।
काठमाण्डू । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका सबै गुट र समूह समाप्त भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा सभापति थापाले पार्टीभित्र रहेका सबै किसिमका गुट र समूह आजदेखि समाप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन ।”
सभापति थापाले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने बताउनुभयो । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा मात्र सीमित नभई कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गरेको उहाँले बताउनुभयो । आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने उहाँको भनाइ थियो ।
सभापति थापाले महाधिवेशन सकिएलगत्तै स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने बताउनुभयो । रासस

