२०८३ भाद्र २५, बिहीवार

बाढीको प्रभाव अर्थतन्त्रमा: रसुवागढी र तातोपानी बन्द भएपछि चलायमान बन्दै कोरला नाका

       
  • रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाका उत्तरी व्यापारको मुख्य मार्ग बन्दै ।
  • भदौ १० पछि दैनिक ५० भन्दा बढी कन्टेनर र १५ भन्दा बढी विद्युतीय सवारी कोरला प्रवेश गर्दै ।
  • चालु आवमा मुस्ताङ भन्सारको राजस्व नौ अर्बभन्दा बढी पुग्ने अनुमान ।

सुन्दरकुमार थकाली/मुस्ताङ । तीन वर्षअघिसम्म नेपाल-चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकका लागि मात्रै सीमित थियो । कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा असार र भदौ महिनामा सीमित समयका लागि मात्रै नाका खुला हुन्थ्यो ।

सीमावर्ती क्षेत्रका नागरिकका लागि दैनिक उपभोग्य वस्तु खरिद गर्न चीन पक्षले कोरला नाकाको तिब्बती भूमिमा अल्पकालीन अन्तरदेशीय व्यापार मेला सञ्चालन गर्ने गरेको थियो । कोभिडका कारण चीनले चार वर्षसम्म नाका पूर्ण रूपमा बन्द गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि २०८० कात्तिक २७ गतेदेखि कोरला नाका उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो । लामो समयदेखि बन्द नाका खुलेपछि सीमावर्ती क्षेत्रका नागरिकमा खुसी छाएको थियो ।

नाका पुनः सञ्चालन गर्दा चिनियाँ पक्षले नेपाली पक्षलाई सहभागी गराएर आतसबाजीसहित औपचारिक कार्यक्रम गरेको थियो । सुरुमा उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुला गरिएको नाकामा पछि तल्लो मुस्ताङका नागरिकलाई पनि सीमापार पास वितरण गरी नेचुङ-लिजी आउजाउ सहज बनाइएको थियो ।

बाह्रै महिना खुला भए पनि सुरुआती अवस्थामा कोरला नाकाबाट हुने निकासी तथा पैठारी स्थानीयस्तरमै सीमित थियो । मुस्ताङ भन्सार कार्यालयले वार्षिक रूपमा १० देखि १५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्दै आएको थियो ।

मुख्य नाकाका रूपमा विस्तार हुँदै

गत वर्ष भदौ ३१ गतेपछि भने कोरला नाका थप चलायमान बन्न थाल्यो । असार र भदौमा आएको बाढी, पहिरो र नदी कटानका कारण तातोपानी र रसुवागढी नाका बन्द भएपछि कोरला नाकालाई वैकल्पिक आयात-निर्यात मार्गका रूपमा अघि बढाइएको हो ।

नाकालाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णयसँगै मुस्ताङ भन्सार कार्यालयमा कर्मचारी थप गरियो र निकासी तथा पैठारीको परिमाण पनि बढ्न थाल्यो । पूर्वाधार निर्माणमा भने अपेक्षित ध्यान नदिइएको भन्सार कार्यालयले जनाएको छ ।

२०८२ भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएपछि कोरला नाकाबाट राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । सीमावर्ती क्षेत्रका नागरिकले रोजगारीका अवसरसमेत पाउन थालेका छन् ।

यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवागढी नाका पूर्ण रूपमा बन्द भएको छ । तातोपानी नाका पनि सञ्चालनमा आउन सकेको छैन । यस्तो अवस्थामा उत्तरतर्फका तीन नाकामध्ये कोरला नाका अहिले मुख्य वैकल्पिक मार्ग बनेको छ ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवाको बाढीपछि केरुङ नाकामा रोकिएका १७६ वटा मालवस्तु बोकेका कन्टेनर कोरला नाकातर्फ डाइभर्ट भइरहेका छन् । ती सबै कन्टेनर बुधबारसम्म कोरला नाकामा आइपुग्ने जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

“केरुङ नाकाबाट कोरला नाकातर्फ डाइभर्ट भएका कन्टेनरमध्ये केही सोमबार आइपुगे भने बाँकी पनि बुधबारभित्र आइपुग्नेछन्”, प्रमुख चुडालले भन्नुभयो, “मुस्ताङ भन्सारको सडक मार्ग छेउछाउ करिब २०० भन्दा बढी कन्टेनर छन् । भन्सार र्‍याडमा लोड गरिएका मालवस्तुसहित करिब १५० भन्दा बढी कन्टेनर रोकिएका छन् ।”

दसैँ, तिहारलगायत चाडपर्व नजिकिएकाले केरुङबाट डाइभर्ट भएका मालवस्तुको पैठारीको चाप बढेको उहाँले बताउनुभयो । चीनबाट तयारी लत्ताकपडा, शृङ्गारका सामग्री, औद्योगिक कच्चा पदार्थ, फलफूल र खाद्य पदार्थ बोकेका कन्टेनर कोरला नाकातर्फ डाइभर्ट भएका छन् ।

बढ्दै राजस्व

रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाका हुँदै मालवस्तु ढुवानी गर्न दैनिक ५० भन्दा बढी कन्टेनर चीनको लिजी प्रवेश गर्ने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो ।

भन्सार कार्यालयका अनुसार रसुवागढी नाका बन्द हुनुअघि ४० दिनमा कोरला नाकाबाट भित्रिएका मालवस्तुको पैठारीबापत ५२ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भदौ १० गतेपछि भने थप २६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

चालु आव २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट ७८ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ ।

रसुवागढी नाका बन्द भएपछि नौ दिनको अवधिमा कोरला नाका हुँदै नेपाल भित्रिएका ८८ वटा मालवस्तु बोकेका कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ ।

यसअघि चालु आवको साउनदेखि भदौ १० गतेअघिसम्म कोरला नाकाबाट १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो ।

भदौ १० गतेअघिको अवधिमा दैनिक चार-पाँच वटा विद्युतीय सवारीसाधन र तीन-चार वटा कन्टेनरको जाँचपास हुने गरेकामा त्यसपछि दैनिक औसत १५ भन्दा बढी विद्युतीय सवारीसाधन र १० भन्दा बढी कन्टेनरको जाँचपास हुन थालेको छ ।

प्रमुख चुडालका अनुसार अघिल्लो ४० दिनमा १६३ वटा विद्युतीय सवारीसाधन जाँचपास भएकामा पछिल्लो १० दिनमा मात्रै १३० वटा जाँचपास भएका छन् । त्यस्तै, अघिल्लो ४० दिनमा १३३ वटा कन्टेनरको जाँचपास भएकामा पछिल्लो १० दिनमा ८८ वटा कन्टेनरको जाँचपास भएको छ ।

उहाँका अनुसार भदौ १० गतेअघिको ४० दिनमा दैनिक औसत एक करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भदौ १० गतेपछिको दैनिक औसत राजस्व सङ्कलन दुई करोड ८८ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

मुस्ताङ भन्सार कार्यालयले गत आव २०८२/८३ मा छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । गत वर्ष पैठारीतर्फ १४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीका मालवस्तु भित्रिएका थिए भने २० करोड ५० लाख रुपैयाँभन्दा बढीका मालवस्तु चीनतर्फ निकासी भएका थिए ।

गत वर्ष कोरला नाका हुँदै चीनबाट भित्रिएका तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन र एक हजार ८७३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो ।

चालु आवमा सामान्य अवस्था रहे नौ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाकाबाट हुने कारोबार बढेकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुने देखिएको प्रमुख चुडालले बताउनुभयो ।

चीनबाट कोरला नाका हुँदै भित्रिएका विद्युतीय सवारीसाधन भन्सार जाँचपासका लागि नाकामै पार्किङ गरिएका छन् । पछिल्लो समय कोरला नाकादेखि न्हेचुङ भन्सार आसपासका क्षेत्रमा कन्टेनर र विद्युतीय सवारीसाधनको सङ्ख्या बढेको छ ।

विगतमा उपल्लो मुस्ताङका नागरिकमा सीमित रहेको कोरला नाका गत वर्ष भदौदेखि सामान्य रूपमा निकासी तथा पैठारीका लागि सञ्चालन हुँदै आएको थियो । रसुवागढी र तातोपानी नाका बन्द भएपछि भने कोरला नाका नेपाल-चीन व्यापारको मुख्य वैकल्पिक मार्गका रूपमा चलायमान बनेको छ । रासस

Facebook Comments