समुद्रले निल्दै नाइजेरियाली बस्ती
टपशट - अगस्ट ७, २०२६ मा ओन्डो राज्यमा तटीय क्षयबाट प्रभावित आयटोरोको तटीय समुदायलाई हवाई दृश्यले देखाउँछ। नाइजेरियाको दक्षिणपश्चिमी ओन्डो राज्यमा रहेको आयटोरोको तटीय समुदाय, एट्लान्टिक महासागरको किनारमा बसोबास गर्ने समुदायहरूको तटीय क्षय र बढ्दो पानीको जोखिमको सबैभन्दा दृश्य उदाहरणहरू मध्ये एक बनेको छ। २००० को दशकको सुरुवातदेखि, आयटोरोमा तटीय क्षय क्रमशः तीव्र हुँदै गएको छ, एट्लान्टिक महासागरले बिस्तारै बस्तीमा अतिक्रमण गर्दै, घरहरू, विद्यालयहरू र अन्य पूर्वाधारहरू निल्दै, र केही बासिन्दाहरूलाई धेरै पटक स्थानान्तरण गर्न बाध्य पार्दै। समुदाय पुस्तादेखि सँगै बस्दै आएको समुद्र निरन्तर खतरा बनेको छ, जसले गर्दा परिवारहरूलाई पानी फेरि उनीहरूसम्म पुग्नको लागि भित्री भागमा पुनर्निर्माण गर्न बाध्य पारिएको छ। आयटोरोमा धेरैका लागि, प्रश्न अब समुद्र उनीहरूको घरमा पुग्छ कि पुग्दैन भन्ने होइन, तर कहिले पुग्छ भन्ने हो। (ओलम्पिया डे मैसमोन्ट / एएफपी द्वारा फोटो)
आयटोरो (नाइजेरिया) । दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै सङ्कटमा परेको छ । हरेक वर्ष समुद्रतट साँघुरिँदै गएको छ भने समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छरिएका छन् । घर गुमाएका परिवारहरू भित्री भूभागमा पुनःनिर्माण गरेर बस्न थाले पनि केही समयमै समुद्रले फेरि उनीहरूको बस्तीलाई चपेटामा पार्ने गरेको छ ।
डुङ्गाबाट मात्र पुग्न सकिने बालुवाको साँघुरो भूभागमा हिँड्दै ३५ वर्षीय थोम्पसन अकिङबोयले भन्नुभयो, “हामी मानिसहरूका घरमाथि हिँडिरहेका छौँ ।” करिब १० हजार मानिसको बसोबास रहेको आयटोरो सन् १९४७ मा सामुदायिक स्वामित्वमा आधारित समाज निर्माण गर्न चाहने कम्युनिस्ट विचारबाट प्रभावित इसाईहरूको समूहले स्थापना गरेको थियो ।
तर सन् २००० को दशकदेखि बस्तीमा तटीय क्षरण तीव्र हुँदै गएको छ । इलाजे जिल्लाका अन्य १९ समुदाय पनि यसबाट प्रभावित छन् । नगर योजना विशेषज्ञ बार्नाबास ओगिरिमा जेम्सको अध्ययनअनुसार सन् १९८७ देखि २०२२ सम्म आयटोरोको तटरेखा हरेक वर्ष औसत १५ मिटर पछाडि सरेको छ ।
सन् २०२४ मा प्रकाशित ‘साइन्टिफिक रिपोर्ट’ को अध्ययनले पश्चिम अफ्रिकाको गिनीको खाडीमा समुद्री सतह हरेक वर्ष करिब ३.९ मिलिमिटरले बढिरहेको र यो विश्वव्यापी औसतभन्दा १०.५ प्रतिशत बढी रहेको जनाएको थियो ।
आयटोरोका परम्परागत राजा ओलुवाम्बे ओजाग्बोहुन्मीले १४ वर्षअघि खिचिएको तस्बिर देखाउँदै भन्नुभयो, “त्यतिबेला यहाँ भवनहरू थिए । अहिले तीमध्ये कुनै पनि बाँकी छैनन् ।” उहाँका अनुसार दरबारमा पहिले करिब १०० कोठा थिए, अहिले करिब एक दर्जन मात्र बाँकी छन् । समुद्र नजिकिएको उहाँको शयनकक्षमा राति छाल पर्खालमा ठोक्किएको आवाज सुनिन्छ ।
“यो हाम्रो भूमि हो । हामी कहाँ जाने ? यो निकै जटिल अवस्था हो”, उहाँले भन्नुभयो ।
अप्रिलमा आएको आँधीका कारण समुद्रको सतह बढ्दा दरबारका बासिन्दा एक सातासम्म घरभित्रै थुनिएका थिए । राजाका व्यक्तिगत सहायक तथा माछा मार्ने अकिङबोयका अनुसार सन् २०१९ मा समुद्रले उहाँका बुबाको घर बगाएपछि आफूले जोगाउन सकेको एउटै वस्तु विश्वविद्यालयको प्रमाणपत्र थियो । केही परिवार तीन पटकभन्दा बढी स्थानान्तरण भइसकेका छन् ।
लागोस विश्वविद्यालयका ल्यान्डस्केप आर्किटेक्चर अनुसन्धानकर्ता ओलुवासेगुन बाबातुन्डे एसानका अनुसार तीव्र सहरीकरणसँगै बाढीका मैदान, दलदल र तटीय क्षेत्रसमेत मानव बसोबास तथा औद्योगिक गतिविधिका लागि प्रयोग भइरहेकाले समस्या थपिएको हो । उहाँले तटीय क्षेत्रमा कडा नियमनसँगै म्यानग्रोभ र नरिवलका रूख रोपेर प्राकृतिक अवरोध विकास गर्न सुझाव दिनुभयो ।
समुद्री पानीको अतिक्रमणले आयटोरोको स्वास्थ्य र शिक्षामा समेत असर पारेको छ । बस्तीको एकमात्र स्वास्थ्य केन्द्र पानीको चपेटामा परेको छ । स्वास्थ्यकर्मी ओमोमी ओलुवासेनले पानी कहिलेकाहीँ झ्यालसम्म पुग्ने गरेको बताउनुभयो । समुद्री पानीका कारण खानेपानी प्रदूषित हुँदा टाइफाइड र झाडापखालाजस्ता पानीजन्य रोगको जोखिम बढेको उहाँले बताउनुभयो ।
४५ वर्षीय शिक्षक सन्डे अकिन्जोयका अनुसार विद्यालयहरू पनि घरहरूजस्तै पटक–पटक स्थानान्तरण गर्नुपरेको छ । “यसले बालबालिकामा मनोवैज्ञानिक असर पारेको छ । उनीहरूको पढाइमा ध्यान केन्द्रित गर्ने क्षमता निकै घटेको छ”, उहाँले भन्नुभयो ।
जलवायु परिवर्तनसँगै समुद्री सतह बढ्दै जाँदा आयटोरोजस्ता नाइजेरियाली तटीय बस्तीमा घर, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको सङ्कट झन् गहिरिँदै गएको छ । एएफपी

