२०८२ भदौ २३ र २४ का हिंसात्मक घटनाका दोषीलाई कानुनी कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह
काठमाण्डू । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
तत्कालीन प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आज प्रेस वक्तव्यमार्फत भदौ २३ गतेको युवा प्रदर्शनका क्रममा गोली लागी ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै त्यसपछिका घटनामा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग प्रस्तुत गर्नु स्वाभाविक भएको उल्लेख गर्नुभएको छ । संविधानले शान्तिपूर्ण रूपमा भेला हुने, विरोध गर्ने तथा लोकतान्त्रिक माध्यमबाट सरकार गठन, पुनर्गठन र परिवर्तन गर्ने अधिकार सुनिश्चित गरेको उहाँले बताउनुभएको छ ।
आफू नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि आयोग गठन गर्ने, सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउने, घाइतेको निःशुल्क उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको उहाँले स्मरण गर्नुभएको छ ।
उक्त दुःखदायी घटनाको नैतिक जिम्मेवारी लिई तत्कालीन गृहमन्त्रीले राजीनामा दिएको पनि अध्यक्ष ओलीले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
गत भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र आक्रमणलाई दुःखदायी क्षणका रूपमा लिनुपर्ने अध्यक्ष ओलीले बताउनुभएको छ ।

