नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, परीक्षणका लागि अत्यावश्यक सवारीलाई मात्रै सञ्चालन अनुमति
भिओके समाचार/काठमाण्डू । मुलुककै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण भएको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो ।
उद्घाटनसँगै निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन । पहिलो चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ ।

करिब तीन महिनासम्म परीक्षणकाल सञ्चालन गरी सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र सञ्चालन अवस्थाको मूल्याङ्कनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने जनाइएको छ । परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइनेछ ।
कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा नियमित सञ्चालन सुरु भएपछि सवारीसाधनका लागि तोकिएको शुल्क लागू हुनेछ । सडक विभागका अनुसार कार, भ्यान, मिनीबस, ट्रक, टिपर तथा बसका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ । पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङमार्गमा प्रवेश दिइने छैन ।
आयोजनामा मुख्य र उद्धार गरी दुईवटा सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङ सवारी आवागमनका लागि प्रयोग हुनेछ भने उद्धार सुरुङ आकस्मिक अवस्थाका लागि छुट्याइएको छ । सुरुङमार्गमा सिसीटिभी, दमकल, आकस्मिक उद्धार प्रणाली, सञ्चार सेवा, अक्सिजन आपूर्ति तथा अन्य सुरक्षा संयन्त्र जडान गरिएको छ ।
काठमाण्डूको चन्द्रागिरि नगरपालिका-१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिका स्थित सिस्नेखोलामा निस्कने यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो बाटोबाट हुने सास्ती कम भई यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ ।
जापान सरकारको करिब २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा सम्पन्न भएको थियो । निर्माण कार्य कोरोना महामारीलगायत कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो ।

