Thu. Jul 16th, 2026

म्यानमारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का

       

जेनेभा । संयुक्त राष्ट्रसङ्घले म्यान्माबाट रोहिङ्ग्या शरणार्थी बोकेर गएका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको आशङ्का व्यक्त गर्दै यसलाई सम्भावित मानवीय विपत्ति भएको जनाएको छ । घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि प्रारम्भिक विवरणले ठुलो मानवीय क्षतिको सङ्केत गरेको राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले संयुक्त वक्तव्य जारी गर्दै जुनको अन्त्यतिर द्वन्द्वग्रस्त म्यानमारको राखाइन राज्यबाट प्रस्थान गरेका दुई डुङ्गा दुर्घटनामा परेको आशङ्का गरिएको जनाएको हो । ती डुङ्गामा अधिकांश यात्रु रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक समुदायका सदस्य रहेको बताइएको छ । केही यात्रु बङ्गलादेशको कोक्स बजारस्थित विशाल शरणार्थी शिविरबाट यात्रा थालेका थिए । कोक्स बजारस्थित शरणार्थी शिविरमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गर्दै आएका छन् ।

राष्ट्रसङ्घका अनुसार करिब २५० यात्रु रहेको एउटा डुङ्गासँग यात्रा सुरु गरेको केही समयमै सम्पर्क विच्छेद भएको थियो । अर्को करिब २८० यात्रु बोकेको डुङ्गा जुलाई ८ मा म्यान्माको अय्यारवाडी तट नजिक डुबेको अनुमान गरिएको छ ।

युएनएचसीआर र आइओएमले घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि सम्भावित ठुलो जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । दुवै निकायले यी यात्रा सामान्य समुद्री यात्राको मौसमभन्दा बाहिर गरिएको उल्लेख गर्दै त्यसबेला समुद्रको अवस्था अत्यन्त जोखिमपूर्ण हुने र पछिल्लो समय परेको अविरल वर्षा तथा बाढीले जोखिम अझ बढाएको बताएका छन् ।

यदि घटनाको पुष्टि भएमा यस वर्ष अन्डमान सागर र बङ्गालको खाडी क्षेत्रमा रोहिङ्ग्या शरणार्थी तथा बङ्गलादेशी नागरिक गरी बेपत्ता वा मृत्यु हुनेको सङ्ख्या करिब ३०० ले थप वृद्धि हुने राष्ट्रसङ्घले जनाएको छ ।

रोहिङ्ग्या समुदायका मानिसहरू हरेक वर्ष सुरक्षित जीवन र राम्रो अवसरको खोजीमा मानव तस्करहरूले सञ्चालन गर्ने जोखिमपूर्ण समुद्री यात्रामा निस्कने गरेका छन् । युएनएचसीआरका अनुसार गत वर्ष मात्रै छ हजार ५०० भन्दा बढी रोहिङ्ग्यामध्ये करिब ९०० जना उत्तर हिन्द महासागर पार गर्ने क्रममा बेपत्ता भएका वा मृत्यु भएको विवरण प्राप्त भएको थियो ।

राष्ट्रसङ्घीय निकायहरूले म्यानमारमा जारी द्वन्द्व, बिग्रँदो मानवीय अवस्था, बङ्गलादेशका शरणार्थी शिविरमा सीमित सहायता तथा अवसरका कारण रोहिङ्ग्याहरू जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भइरहेको उल्लेख गरेका छन् । साथै, मानव तस्करी र अवैध ओसारपसार गर्ने सञ्जालहरूले उनीहरूको निराशाको फाइदा उठाइरहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

आइओएम र युएनएचसीआरले खोज तथा उद्धार अभियान विस्तार गर्न, शरण र संरक्षणमा पहुँच सुनिश्चित गर्न तथा मानव तस्करी र अवैध ओसारपसार गर्ने सञ्जालविरुद्ध प्रभावकारी कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । साथै, वर्षौंदेखि रोहिङ्ग्या शरणार्थीलाई आश्रय दिँदै आएको बङ्गलादेशको प्रशंसा गर्दै शरणार्थी र उनीहरूलाई आश्रय दिने समुदायका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग तथा जबर्जस्ती विस्थापनका मूल कारण समाधान गर्न थप प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् । एएफपी

Facebook Comments