Fri. Sep 20th, 2024

देशको लोकतन्त्र, सार्वभौमसत्ता, गणतन्त्र र संविधानको रक्षाका लागि काम गरिरहेको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं, २०७७ माघ ८ गते बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मूल लक्ष्य देश बनाउने भएको बताउनुभएको छ ।

त्यसकैलागि सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा तय गरेर स्पष्ट लक्ष्यसाथ काम गरिरहेको उहाँले प्रष्ट पार्नुभएको छ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज विहिबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

“मेरो र मेरो पार्टीको मूल लक्ष्य देश बनाउने हो, कसैसँग प्रतिशोध गर्नु होइन” उहाँले भन्नुभयो, “हाम्रो स्पष्ट गन्तव्य छ, उज्यालोतिरको गन्तव्य, समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य, देशभक्ति र राष्ट्रियताको गन्तव्य ।” अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर संकेत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो मन कालो छैन, हाम्रो सोच र कार्यशैली कालो छैन, हामी कालो सपना पनि देख्दैनौं, केवल उज्यालो र देश बनाउने सपना देख्छौं ।” आफूले देशको लोकतन्त्र, सार्वभौमसत्ता, गणतन्त्र र संविधानको रक्षाका लागि काम गरिरहेकाले कसैको भ्रममा नपर्न उहाँले सबैमा आव्हान गर्नुभयो । गोरखापत्र

Facebook Comments