Sun. May 19th, 2024

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण

काठमाडौं, २०७७ माघ ८ गते बिहीबार

भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो ।

गोरखापत्रका अनुसार त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । “आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकोमा कृतज्ञता ज्ञापन गर्दछु”, उहाँले भन्नुभयो ।

निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो ।

भारतबाट हवाइ मार्गबाट ल्याइएकाे  काेरोनाको खोप  मध्यान्ह काठमाडौमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यी खोपहरु हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी र सफाइकर्मीहरुलाई दिइने जानकारी बुधबार भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नेपालको ७२ प्रतिशत जनसंख्यालाइ खोप दिने तयारी सरकारले गरेको छ ।सरकारले खोप आएको सातदिनमा खोप लागाउने व्यवस्था गरेको र खोपका लागि आवश्यक कानुनी ,आर्थिक र प्राविधिक तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments