Thu. May 28th, 2026

मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद) भव्य रुपमा मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेल

       

काठमाण्डू । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ ।

मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने तथा खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद–उल–अज्हाको नमाज पढ्नुका साथै शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।

राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विशेष विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने उल्लेख गर्नुभएको छ । साथै उहाँले यस पर्वले सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आआफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा गर्नुभएको छ ।

इद–उल–अज्हा (बकर इद) को माध्यमबाट सबै नेपालीबीच प्रेम, करुणा, त्याग, सहिष्णुता, सद्र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read