Thu. Apr 25th, 2024

माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थयात्रीका लागि निःशुल्क जलयात्रा

काठमाडौं, २०७७ पुस २९ गते बुधबार

पवित्र तीर्थस्थल देवघाटधामको वेणी सङ्गममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थयात्रीका लागि निःशुल्क जलयात्राको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका हुँदै वेणी सङ्गममा स्नानका लागि आउने तीर्थयात्रीका लागि निःशुल्क र्र्याफ्टिङ बोटको व्यवस्था गरिएको हो ।

वडा नं ३ ले वेणीमा स्नान गर्न जाने तीर्थयात्रीलाई निःशुल्क कालीगण्डकी नदी तर्ने व्यवस्था गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । “माघे सङ्क्रान्तिमा गैँडाकोटको शिलान्यास चोक हुँदै वडा नम्बर ३ को केलादीघाटदेखि वेणीमा स्नानका लागि जाने तीर्थयात्रीका लागि यस वर्ष निःशुल्करुपमा नदी तर्ने व्यवस्था गरेका छौँ”, तिवारीले भन्नुभयो, “चितवनतर्फबाट वेणीमा जाँदा बाटोमा भीडभाड तथा जाम हुने समस्या भएकाले नवलपरासी र पश्चिमबाट आउने तीर्थयात्रीलाई हामीले नवलपरासीबाटै वेणी जाने व्यवस्था गरेका हौँ ।”

वडा नं ३ बाट देवघाटको वेणी सङ्गममा जानका लागि कालीगण्डकी नदी तर्नुपर्ने भएकाले निःशुल्क र्र्याफ्टिङ उपलब्ध गराइएको तिवारीको भनाइ छ । अघिल्ला वर्षहरुमा वेणीमा पुगेर माघे सङ्क्रान्ति स्नानमा समस्या भएर तीर्थयात्री फर्किनुपरेको गुनासो आएपछि यस पटक वडा कार्यालयले नदी तर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

नवलपरासीको बाटो भएर सिधै वेणी सङ्गममा जानका लागि गैँडाकोटको शिलान्यास चोकबाट ब्रिटिस क्याम्प हुँदै केलादीघाटमा पुग्न सकिने वडाध्यक्ष तिवारीले जानकारी दिनुभयो । देवघाटधाम नवलपरासी, चितवन र तनहुँको सिमानामा पर्ने भए पनि चितवन र तनहुँको तुलनामा नवलपरासीतर्फको क्षेत्र ओझेलमा परेकाले यसको प्रचारप्रसारका लागिसमेत नयाँ योजना अगाडि बढाइएको तिवारीले बताउनुभयो ।

अघिल्ला वर्षहरुमा देवघाट धाममा माघेसङ्क्रान्ति स्नानका लागि एक लाखभन्दा बढी तीर्थयात्री आउने गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताउनुभयो । देवघाटमा स्नानका लागि नवलपरासी, चितवन, तनहुँसहित देशका विभिन्न जिल्ला तथा भारतबाट समेत तीर्थयात्री आउने गरेका घिमिरेको भनाइ छ । गोरखापत्र

Facebook Comments