Fri. Apr 19th, 2024

थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, २०७७ पुस २९ गते बुधबार

कोरोना भाइरसबाट आज थप ४ सय ४५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज ४ हजार १ सय ५४ वटा नमूनाको परीक्षण गर्दा २ सय ६१ जना पुरूष तथा १ सय ८४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो संगै नेपालमा हाल सम्म २ लाख ६६ हजार १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप ४ सय १४ जना संक्रमण मुक्त भएका छन् भने देशभर गरी ४ हजार ४ सय ३४ जना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना संक्रमणका कारण आज थप ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हाल सम्म १ हजार ९ सय ३७ जनाको कारोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जनाकारी दिनुभयो ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण परीक्षणका लागि नयाँ प्रविधि (क्रिस्पर) प्रविधि प्रयोगमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा अनुसन्धान वैज्ञानिक दिग्विजय महतले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा क्रिस्पर प्रविधिको वैधता र विश्वसनीयता परीक्षणको काम भईरहेको बताउनुभयो ।

क्रिस्पर प्रविधि रियल टायम पिसिआर प्रविधि भन्दा सस्तो एवं नेपालमा नै उपलब्ध कच्चा पदार्थबाट परीक्षण किट तयार गर्न सकिने हुनाले नेपालका लागि उपयोगी हुने अनुसन्धान बैज्ञानिक महतले बताउनुभयो ।

क्रिस्पर प्रविधि कोरोना भाइरस बाहेक एचआईभि, मलेरिया, क्षयरोग लगायतका अन्य रोगको परीक्षणमा समेत प्रयोग गर्न सकिने बैज्ञानिक महतले बताउनुभयो ।

Facebook Comments