Fri. Apr 26th, 2024

गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं, २०७७ पुस २९ गते बुधबार

पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जित्नुभएको छ । विसं २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडीका रूपमा घोषित हुनुभएको हो ।

गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको हो । गौरीकाले १३औँ दक्षिण एशियाली खेलकूद सागमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक गरी नौ पदक जित्नुभएको थियो ।

उहाँले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गर्नुभएको थियो । गौरीकाले आठौँ राष्ट्रिय खेलकूदमा १२ स्वर्ण पदक जित्नुभएको थियो । गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमानसमेत बनाउनुभएको थियो । उहाँले जापानको टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेको छ ।

मण्डेकाजीले गल्फका सुवास तामाङ, तेक्वान्दोका कमल श्रेष्ठ, एनलेटिक्सका गोपीचन्द्र पार्की तथा फुटबलका विकेश कुथुलाई उछिन्दै उक्त अवार्ड जित्नुभएको हो । यी सबै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा स्वर्ण पदक जित्नुभएको थियो ।

उक्त प्रतियोगितामा मण्डेकाजीले करातेतर्फ टिम काता र एकल गरी दुई स्वर्ण पदक जित्नुभएको थियो । उहाँले आठौँ राष्ट्रिय खेलकूदमा एकल कातामा स्वर्ण तथा टिम कातामा रजत जित्नुभएको थियो ।

Facebook Comments