Thu. Apr 25th, 2024

जिन्दगी अनौठो यात्रा रहेछ

- भवानी न्यौपाने 'भावना'

काठमाडौं, २०७७ पुस २६ गते आईतबार

म प्रेमको सुवासमा सदा खुसी बटुल्दछु
म श्वेत दन्तमा सँधै मुसुक्क कान्ति खुल्दछु।
म चेहरा प्रशन्न ली जहाँतहीँ रमाउँछु
गरेर दिव्य साधना सुकिर्तिमै हराउँछु।।

भरिया दाइ!
गहते डाँडाको रातो माटो
वर र पिपलका चौतारी
भरिया दाइको डोकोभरि पहेँलै सुन्तला
नाम्लाभरि रातै पाकेका हलुवाबेद
अनि सङ्गीतमा बगिरहेको खोला
जिन्दगीका कहिले नसुक्ने अमर इतिहास हुन् ।

मूलपानी वनस्पति उद्यानको स्पर्श
राप्तीनदीको मृदुल मुस्कान
त्रिवेणीघाटको कुम्भमेला
देवदहको बुद्ध मावलीसित मिसिँदै
पाकडीवृक्षको शीतल छहारीमा विश्रान्ती लिँदै
मुस्काइरहेका एकहुल श्वेत परेवा
दाउनेदेवीको आशीर्वाद बटुल्दै
सिजीको मनमोहक दृश्यमा पुग्छन्
अकाट्य स्मृतिका डोबहरू।

भरिया दाइ!
जिन्दगी अनौठो यात्रा रहेछ
मेसिन झैँ यत्रतत्र घुमिरहेछ
यही यात्रामा कोही बिजाउन आउँछन्
कोही हृदय जितेर रिझाउन आउँछन्

बाबु!
जिन्दगीपथमा नैतिक ध्वजा उचाल्दै
शालीन बनेर आउनेहरूलाई
हृदयको दिव्यकुञ्जमा राखिदिनू
अहंकार र दम्भको रक्तकोष प्रवाहित गर्दै
स्वार्थ र ईष्र्या बोकेर आउनेलाई नमस्कार भनिदिनू !

Facebook Comments