Sat. May 4th, 2024

पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज २९९ औं पृथ्वी जयन्ती मनाइँदै

काठमाडौं, २०७७ पुस २७ गते सोमबार

आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ।

१७७९ साल पुस २७ गते गोर्खामा जन्मिनुभएका शाहले आफ्नो शासनकालमा चार दर्जन भन्दा धेरै साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गर्नु भएको थियो ।
भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना सन्देशमा उहाँले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताउनु भएको छ ।

‘राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने छ’, सन्देशमा भनिएको छ, ‘यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।’

हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइन्छ । आज पृथ्वी जयन्तीका अवसरमा राप्रपा लगायत केही दल र व्यक्तिहरुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेका छन् ।

२०६३ साल भन्दा पहिले राष्ट्रिय एकता दिवस सरकारी तवरबाटै मनाउने गरिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छैन । यस अवसरमा दिइँदै आएको सार्वजनिक बिदासमेत सरकारले कटौती गरेको छ ।
Facebook Comments