Sat. May 9th, 2026

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

थाई विदेशमन्त्रीको सही परिचयपत्र - बायाँबाट, मलेसियाली विदेशमन्त्री मोहम्मद हसन, म्यानमारका विदेश मन्त्रालयका स्थायी सचिव हाउ खान सुम, थाई विदेशमन्त्री सिहासक फुआङकेटकेव, पूर्वी टिमोरका विदेशमन्त्री बेन्डिटो डोस सान्तोस फ्रेटास, भियतनामका विदेशमन्त्री ले होई ट्रङ, फिलिपिन्सका विदेशमन्त्री थेरेसा लाजारो, सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णन, ब्रुनाईका दोस्रो विदेशमन्त्री एरियवान युसोफ, कम्बोडियाका विदेशमन्त्री प्राक सोखोन, इन्डोनेसियाका विदेशमन्त्री सुगियोनो, लाओसका विदेशमन्त्री थोङसाभान्ह फोमविहाने र आसियानका महासचिव काओ किम होर्न बिहीबार, जनवरी २९, २०२६ मा फिलिपिन्सको सेबुमा दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) का विदेशमन्त्रीहरूको रिट्रीटको क्रममा समूह तस्बिर खिचाउँदै। (जाम स्टा रोजा/एपी मार्फत पूल फोटो)

       

सेबु (फिलिपिन्स) ।   दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सम्पन्न यो पहिलो चुनाव सेना समर्थित दलले जितेको दाबी गरे पनि आसियानले त्यसलाई स्वीकार नगर्ने फिलिपिन्सका विदेशमन्त्री थेरेसा लाजारोले बिहीबार बताउनुभएको हो ।

यो निर्णय म्यान्माका सैन्य शासकहरूका लागि अन्तर्राष्ट्रिय मान्यता खोज्ने प्रयासमा ठूलो झट्का मानिएको छ । आसियानले सत्ता कब्जापछि सैन्य शासनलाई औपचारिक रूपमा मान्यता दिन अस्वीकार गर्दै आएको छ, । सत्ता कब्जापछि म्यान्मा घातक गृहयुद्ध र गहिरो राजनीतिक सङ्कटमा फसेको छ ।

म्यान्माको चुनावलाई मान्यता दिने कि नदिने भन्ने प्रश्नमा लाजारोले अहिलेको अवस्थामा समर्थन नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले यस वर्ष आसियानको पहिलो मन्त्रिस्तरीय बैठकपछि बोल्दै क्षेत्रीय समूहले तीन चरणमा गरिएको चुनावलाई अनुमोदन नगरेको जानकारी दिनुभयो । म्यान्मा सङ्कट बैठकको प्रमुख एजेन्डामध्ये एक थियो ।
म्यान्माको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले चुनाव जितेको दाबी गरेको छ । तर प्रमुख विपक्षी दलहरूलाई बहिष्कार गरिएको र असहमतिको कडा दमन गरिएको अवस्थामा भएको मतदान स्वतन्त्र र निष्पक्ष नभएको आलोचकहरूको भनाइ छ । संसद्का एक चौथाइ सिट स्वतः सेनाका लागि आरक्षित गरिनुले सैन्य नियन्त्रण सुनिश्चित गरिएको बताइन्छ ।

सिङ्गापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले अर्थपूर्ण राजनीतिक प्रगतिका लागि हिंसा अन्त्य, समावेशी संवाद र सबै पक्षको सहभागिता आवश्यक हुने बताउनुभएको छ ।

यस वर्ष आसियानको घुम्ती अध्यक्षता फिलिपिन्सले सम्हालेको छ । सदस्य राष्ट्रहरूबीच आन्तरिक द्वन्द्व, सीमा विवाद र क्षेत्रीय तनाव कायमै रहेका बेला म्यान्माको विषयले समूहको एकतामाथि थप चुनौती सिर्जना गरेको विश्लेषण गरिएको छ । एपी

Facebook Comments

सम्बन्धित समाचार