Fri. Apr 26th, 2024

हेटौंडामा एकचालिस करोडको लागतमा दुग्ध पाउडर प्लान्ट निर्माण गरिन्दै

काठमाडौं, २०७७ पुस १८ गते शनिबार

बागमती प्रदेश सरकारले ४१ करोड रुपैयाँ खर्चिएर हेटौंडामा दुग्ध पाउडर प्लान्ट निर्माण सुरु गरेको छ ।

पाउडर प्लान्ट निर्माण भएसँगै बागमती प्रदेशसहित अन्य प्रदेशका दुग्ध किसानले उत्पादन गरेका दूधको सहज बजारीकरण हुने विश्वास लिइएको छ । उत्पादित दूध नबिकेर ‘मिल्क होलीडे’ गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट निर्माण गर्न लागिएको जनाइएको छ । पुस १ गते ठेक्का सम्झौता गरिएको प्लान्टको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको हो । हेटौंडा-१० स्थित सिसौघारीमा एक वर्षभित्र सम्पन्न गर्नेगरी इजी इन्फ्राप्रालिसँग ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो ।

पाउडर प्लान्ट दैनिक ६० हजार लिटर दूध खपत गर्नसक्ने क्षमताको हुनेछ । नियमित रुपमा सञ्चालनमा आएमा प्लान्टबाट प्रतिदिन ५ मेट्रिक टन र प्रतिवर्ष एक हजार पाँच सय टन धुलो दूध उत्पादन हुने अनुमान गरिएको प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. शरणकुमार पाण्डेले जानकारी दिनु भयो। प्लान्टबाट बटरसमेत उत्पादन गरिने डा। पाण्डेले बताउनु भयो । उहाँका अनुसार प्लान्टमा ५० जनाले प्रत्यक्ष र करिब २ हजार जनाले अप्रत्यक्ष रोजगारी पाउनेछन् । बागमती प्रदेश, प्रदेश-२ र अन्य प्रदेशका जिल्लाहरुबाट समेत दूध ल्याएर पाउडर उत्पादन गर्ने योजना बनाइएको छ ।

प्लान्टको शिलान्यास कार्यक्रममा बोल्दै बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले अब किसानले उत्पादन गरेको दूध नबिकेर सडकमा पोख्नुपर्ने बाध्यता हटेर जाने विश्वास व्यक्त गर्नुभयो। किसानको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट स्थापना गर्न लागेको भन्दै पौडेलले प्रदेश सरकार सधैं किसानको पक्षमा रहेको बताउनु भयो । किसानकै हितको लागि हेटौंडा ११ थानाभ(याङमा बृहत कृषि सुपर मार्केटसमेत निर्माण गर्न लागिएको पौडेलले जानकारी दिए । तरकारी र दूधको उत्पादन तथा बजारीकरणमा प्रदेश सरकारले विशेष ध्यान दिई कार्यक्रमहरु ल्याइरहेको उहँको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्लान्ट स्थापना भएपछि किसानले उत्पादन गरेको दूधको बजारीकरणमा समस्या नहुने दावी गर्नुभयो। प्लान्टबाट बागमती प्रदेशसहित अन्य चार वटा प्रदेशका किसानलेसमेत लाभ लिनसक्ने उहाँले बताउनु भयो । “उद्योग स्थापना भएसँगै रोजगारीको समेत सिर्जना हुन्छ । किसानलाई धेरै गाई, भैंसी पाल्नसमेत उत्प्रेरणा बढ्छ । प्रदेशको विकास र समृद्धि यसैगरी हुने हो ।” मन्त्री लामाले भन्नुभयो।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले अब मिल्क होलीडे नहुने विश्वास व्यक्त गर्नुभयो। देशभरमा साढे चार लाख परिवार दूध उत्पादनमा लागेको जानकारी दिँदै देवकोटाले दैनिक ९ लाख लिटर दूध सहकारीमार्फत संकलन गरी दैनिक साढे ९ करोड रुपैयाँ किसानको हातमा पुगेको बताउनु भयो । निजी क्षेत्र र सहकारीहरुले समेत सेयर लिनसक्ने गरी पाउडर प्लान्ट निर्माण गर्न लागिएको भन्दै उनले यसमा सबैको अपनत्व हुने बताउनु भयो । ठेकेदार कम्पनीका प्रतिनिधि उत्तम पौडेलले एक वर्षभित्र दुग्ध पाउडर प्लान निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनु भयो । कारोवार दैनिक

Facebook Comments