Mon. May 6th, 2024

ओली समूहले आज ‘बृहत् कार्यकर्ता’ भेला गर्दै दाहाल-नेपाल समूहको आन्दोलनका कार्यक्रम पनि आजै सार्वजनिक

काठमाडौं, २०७७ पुस १८ गते शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेलाको आयोजना गर्दैछ ।

ओली समूहको काठमाडौं जिल्ला कमिटीको आयोजनामा उक्त भेला गर्न लागिएको हो ।  शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भेला आयोजना गर्ने बताइएको छ।

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा ‘बादल’, उप प्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ। गत बुधबार मात्र ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ताको भेला गरेको थियो।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा व्याख्या गरेको नेकपा दाहाल-नेपाल समूहले शनिबार दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नेताहरुले दोस्रो चरणका आन्दोलनका कार्यक्रम जनपरिचालन सम्बन्धी हुने बताएका छन् । यसअघि यो समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको थियो ।

बुधबार नै दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गर्ने भनिए पनि अन्य दलसँग मिलेर संयुक्त कार्यक्रम दिने प्रयासमा दाहाल-नेपाल समूह संवादमा लागेको थियो । तर, तत्काल अन्य दलसँग संयुक्त संघर्षका कार्यक्रममा सहमत नभएपछि शनिबार दाहाल-नेपाल समूहले एकल रुपमा कार्यक्रम ल्याउन थालेको हो ।

आन्दोलन परिचालन गर्न नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । श्रेष्ठले शनिबार समितिको बैठक बस्ने र तीन बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताउनु भयो । आन्दोलनका कार्यक्रम वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा हुने आन्दोलन परिचालन समितिका सदस्यहरुको भनाइ छ ।

Facebook Comments