Thu. Apr 25th, 2024

आगामी मार्चभित्र कोभाक्स सुविधाअन्तर्गतको खोप आउन सक्ने

काठमाडौं, २०७७ पुस १२ गते आईतबार

आगामी मार्चभित्र कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्धको खोप आउन सक्ने भन्दै गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) ले तयारी अवस्थामा रहन सन्देश पठाएको छ । खोपको भण्डारण, ओसारपसारलगायत अन्य तयारीका लागि गाभीले सरकारलाई जानकारी गराएको हो ।

‘नयाँ वर्षको पहिलो तीन महिनाभित्र उपलब्ध गराउन सकिने जानकारी गाभीले दिएको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भन्नु भयो, ‘कति दिने भनेर खुलाएको छैन तर तयारीमा बस्न भनेको छ ।’

उक्त जानकारीपछि न्यूनतम ३ प्रतिशत जनसंख्याका लागि आउने खोपको भण्डारण, ओसारपसारलगायत प्रक्रियाको सरकारले थालनी गरेको छ । कोभाक्ससँग खोप सुनिश्चितताका लागि निरन्तर सूचना आदानप्रदान भइरहेको डा. गौतमले बताउनु भयो । गाभीको सूचनापछि मन्त्रालयले गाइडलाइन, कोल्डचेन, खोप केन्द्र, तालिम, सूचना सम्प्रेषण, खोप लगाउनेको प्राथमिकतालगायतमा पनि तयारी थालेको छ ।

कोभाक्सभन्दा पहिले नै नेपालमा अनुकूल हुने अर्को खोप आए त्यसलाई ल्याउने प्रक्रियाबारे पनि तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ । आउँदो मार्चसम्म कोभाक्सबाट न्यूनतम ३ प्रतिशत जनसंख्या अर्थात् ९ लाख जनालाई पुग्ने खोप आउन सक्ने मन्त्रालयको आकलन छ । कोभाक्सले मुलुकको २० प्रतिशत जनसंख्या अर्थात् ६० लाख जनालाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्घता जनाएको थियो ।

‘स्वास्थ्यकर्मीसहित कोभिड नियन्त्रण र व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएका अन्य व्यक्ति गरी करिब ९ लाख जनालाई पहिलो चरणको खोप दिने रणनीति छ,’ मन्त्रालयका एक पदाधिकारीले भने । हालसम्म मुलुकमा कोभिड संक्रमण पुष्टि भएका २ लाख ५७ हजार २ सय जनामध्ये ५ हजारभन्दा बढी स्वास्थ्यकर्मी छन् । सरकारले स्वास्थ्यसम्बन्धी काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई खोप लगाउने डा. गौतमले बताउनु भयो ।  ‘यसबाहेक स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीबाहेकका अन्य जनशक्तिलाई समेत खोप दिइनेछ,’ उहाँले भन्नुभयो । नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्लगायत विभिन्न काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या २ लाख ५० हजारदेखि ३ लाखसम्म रहेको मन्त्रालय स्रोतले बतायो ।

सन् २०२१ मा कोभाक्समार्फत विश्वको कमजोर र मध्यम अर्थव्यवस्था भएका ९२ मुलुकलाई १३० करोड खोप उपलब्ध गराउने कोभाक्सले बताएको छ । १ सय ९० राष्ट्रको अनुरोधमा खोप बनाउने कम्पनीसँग सम्झौता गरेको उसले जनाएको छ । कोभाक्सले अक्सफोर्ड-अस्ट्राजेनिकाद्वारा बनाइएको २० करोड खोप किन्नेछ । उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ ।

नेपालमा सरकारी खोप कार्यक्रमअन्तर्गत २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्ने खोपका लागि कोल्ड चेन, ओसारपसारलगायत क्षमता भएकाले यस्तो खोप सहज रूपमा उपयोग गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन् । कान्तिपुर

Facebook Comments