Sat. May 4th, 2024

प्रदेश १ का आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त

काठमाडौं, २०७७ पुस ११ गते शनिबार

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई पदमुक्त गर्नु भएको छ। शनिबार साँझ मुख्य मन्त्री राईले मन्त्री आङबोलाई पद मुक्त गर्नु भएको हो ।

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई बर्खास्त गर्नु भएको हो ।

आङबोको अगुवाइमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर संकलन भइरहेको थियो । पूर्वमाओवादी नेता आङबो नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहमा हुनुहुन्छ । प्रचण्ड-नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पटक पटक छलफल गर्दै आएका छन् ।

नेपाल पक्षबाट प्रदेशसभा सदस्य भीम आचार्यको नाम नयाँ मुख्यमन्त्रीका लागि चर्चामा छ । प्रदेश १ को प्रदेशसभामा ९३ सदस्य छन् । नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ सदस्य छन् ।

यसैबीच आङ्बोले सामाजिक संजाल फेसबुकमार्फत प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ बर्ष १० महिना काम गर्ने अवसर दिनु भएकोमा मुख्यमन्त्री शेरधन राइलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

एक प्रश्नको जवाफमा आङ्बोले मुख्यमन्त्रीले बाटो खोलिदिएकाले अविश्वासको प्रस्ताव दर्ता गर्न सहज भएको र अब आफ्नै अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता हुने बताउनु भयो ।

प्रदेश १ को प्रदेशसभामा ९३ सदस्य छन् । नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ सदस्य छन् ।

नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ प्रदेशसभा सदस्य छन् ।

प्रदेश १ को संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री केपी ओली पक्षधर मुख्यमन्त्री राई २६ मत प्राप्त गरी विजय हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाल पक्षका भीम आचार्यले २४ मत प्राप्त गर्नुभएको थियो। १ मत बदर भएको थियो ।

Facebook Comments