Wed. May 1st, 2024

अमेरिकाद्वारा नेपाललाई साढे १५ अर्ब नगद र सैन्य सहयोगको प्रस्ताव

काठमाडौं, २०७७ पुस ९ गते बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको अर्को दिन सोमबार अमेरिकी संसदले नौं सय मिलियन डलरको गतिलो राहत प्याकेज पास गरेको छ । यता आफ्नै संसद धान्न नसकेको नेपालका लागि समेत सो प्याकेजमा १३ अर्ब रुपैयाँभन्दा बढी रकम छुट्याइएको छ ।

अमेरिक संसदले पास गरेको ५५९३ पेज लामो सो प्रस्तावको १४९३ औं पेजमा नेपाललाई गर्ने सहयोग राशी बारे उल्लेख गरिएको छ । नेपाललाई आर्थिक सहायता र वैदेशिक सैन्य वित्तीय कार्यक्रम अन्तर्गत पारेर यस्तो सहयोग गर्न लागेको हो । अमेरिकाले विदेशी सेनाको लागि आर्थिक सहयोग गर्ने कार्यक्रम अन्तर्गत यो रकम दिन लागेको हो ।

आर्थिक सहयोग अन्तर्गत संसदले पारित गरेको उक्त प्रस्तावमा लेखिएको छ,‘यो कानुनको शिर्षक ३ र ५ अन्तर्तग गरिने यस्तो सहायता कम्तिमा १३ करोड २ लाख ६५ हजार डलर (१५ अर्ब ४३ करोड रुपैयाँ बराबर) को हुने छ ।’ यो सहायता विकास र लोकतन्त्र कार्यक्रम अन्तर्गत प्रदान गरिने समेत त्यसमा उल्लेख गरिएको छ  ।

त्यसैगरी, वैदेशिक सैन्य वित्तीय कार्यक्रम अन्तर्गत प्रदान गरिने रकम भने नेपालमा मानवीय सहयोग, विपत राहत तथा पुर्नःथापना कार्यक्रम जस्ता क्षेत्रमात्र प्रदान गर्ने उल्लेख गरिएको छ  ।

आर्थिक न्यूजका अनुसार अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि समेत अमेरिकाले नेपाली सैन्य क्षेत्रका लागि वित्तीय सहयोग गर्ने किटान गरेको छ । यस्तो सैन्य वित्तीय सहयोग चाहिँ अमेरिकी सरकारको पर राष्ट्रमन्त्रालयले नेपालमा दिन ठिक छ भनेर प्रमाणित गरेको खण्डमा मात्र दिन सकिने उल्लेख गरेको छ  ।

सैन्य वित्तीय सहयोग प्राप्त गर्न नेपालले मानव अधिकार उलंघन युद्धका नियमको उलंघन भएको घटनाको छानविन गरेको र त्यस्तो कार्यमा कानुनी निकायहरूसँग नेपाली सेनाले समन्वयात्मक भुमिका गरेको हुनुपर्ने समेत उल्लेख छ । अमेरिकी संसदले पास गरिसकेको यो बिल राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षेर गर्न भने बाँकी नै छ ।

Facebook Comments