Tue. May 7th, 2024

उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न नेताहरूको दबाव: मन्त्री भट्ट

काठमाडौं, २०७७ पुस ३ गते शुक्रबार

उखु किसानहरुको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न नेताहरूको दबाव आईरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताउनु भएको छ ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा मन्त्री भट्टले सामाजिक सञ्जाल ट्विटरमा किसानको बक्यौता भुक्तानी गरी न्याय दिनुपर्छ भनेर लेख्ने नेता नै उद्योगीलाई पक्राउ नगर्न भन्दै आफूलाई फोन गरिरहेको बताउनु भएको हो । सामाजिक सञ्जालमा न्यायको वकालत गर्दै उद्योगीलाई कारबाही गर्नुपर्छ भन्ने तर मन्त्रीलाई फोन गरेर कारबाही नगर भन्ने द्वैध चरित्र देखाउने प्रवृतिले समस्या भएको उहाँको भनाई थियो ।

‘यहाँ द्वैध चरित्रले अलि समस्या हुन्छ जस्तो लाग्यो मलाई । यहाँ न्यायको कुरा गर्ने, उद्योगीलाई ठेगान लगाउनुपर्छ पनि भन्ने अनि जब ठेगान लगाउन थाल्यो फोन आउँछ । ‘होइन त्यसलाई त रोक्नुपर्‍यो, उद्योगी त तिर्छु भेनको छ, चार दिन रोकिदिनु पर्‍यो’ भन्ने,’ त्यस्तो गर्ने नेताहरू को हुन् भनेर नाम उल्लेख नगरी मन्त्री भट्टले भन्नुभयो, ‘मैले ट्विटर हेरेँ, निकै नेताहरूको किसानले न्याय पाउनुपर्छ भनेर लेखेका छन् अनि तिनै नेताले फोन गर्छन र उद्योगीलाई गिरफ्तार गर्न हुन्न भन्छन् । यो खालको क्यारेक्टर समस्या हल गर्न बाधक बन्यो ।’

कान्तिपुर अनलाईनका अनुसार उद्योगीहरू जो भएपनि मन्त्रालयले कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाएको मन्त्री भट्टले जानकारी दिनु भयो । उद्योगीको संरक्षण र विकास गर्ने काम उद्योग मन्त्रालय अन्तर्गत पर्ने तर कुनै उद्योगीले अन्याय गर्छ भने त्यसलाई छाड्न नमिल्ने पनि मन्त्री भट्टको भनाइ थियो ।

वर्षौदेखि उखुको बक्यौता भुक्तानी नगरेको भन्दै किसानहरू माइतीघरमा मण्डलामा धर्ना र प्रदर्शन गरिरहेका छन् । उनीहरूको समर्थनमा दिनदिनै प्रदर्शनकारी र राजनीतिक दलहरू बढिरहेका छन् । तर चिनी उद्योगी र सरकारले भने किसानलाई बक्यौता भुक्तानी गर्ने तर्खर गरिरहेका छैनन् ।

Facebook Comments