Thu. Apr 25th, 2024

पशुपतिनाथ मन्दिर आजदेखि खुला, अनिवार्यरुपमा मास्क लगाउनुपर्ने

काठमाडौं, २०७७ पुस १ गते बुधबार

कोरोना भाइरस संक्रमणको त्रासका कारण नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि खुला भएको छ । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य मापदण्ड निश्चित गरेर भक्तजनहरुका लागि मन्दिर खुला गरिएको जनाएको छ ।

मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गर्नु भएको थियो ।

प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गर्नु भएको हो ।

सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनु भयो। यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ। पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ। मन्दिर आजदेखि खुले पनि  रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरिने कोषाध्यक्ष डा. थापाले बताउनु भयो। नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिकरुपमा विरोध प्रदर्शन गर्दै आएका थिए।

Facebook Comments