Fri. Apr 19th, 2024

अध्यादेश फिर्ता गराउन नेकपा स्थायी कमिटी बैठकमा प्रचण्ड र नेपाल पक्षले दबाब दिने

काठमाडौं, २०७७ पुस १ गते बुधबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने स्थायी कमिटी बैठकमा मंगलबार जारी अध्यादेश फिर्ता गराउन प्रचण्ड र नेपाल पक्षले दबाब दिने भएका छन् ।

पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्श नगरी संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश ल्याएपछि आजको बैठक थप पेचिलो बन्ने देखिएको छ । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बन्नु भएको छ । ओलीले पार्टीमा परामर्श नै नगरी ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उहाँहरुको माग छ ।

अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्यहरु हिजो खुमलटारमा भेला भएका थिए । उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन् । पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) सँग मंगलबार नै भेटवार्ता गर्नु भएको थियो ।

प्रचण्डलाई भेट्न जानुअघि नेम्वाङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नु भएको थियो । दुवै अध्यक्षसँग पार्टीको विवादबारे नै कुराकानी गरेको नेम्वाङले बताउनु भयो । प्रचण्ड निवास खुमलटार पुग्नु भएका नेम्वाङसँग प्रचण्डले अध्यादेशबारे सोध्नु भएको थियो । ‘किन यस्तो अध्यादेश ल्याइयो भनेर प्रचण्ड कमरेडले सोध्नुभयो । मैले तपाईंले नै प्रधानमन्त्रीसँग कुरा गर्नुपर्छ भनेको छु’ नेम्वाङले भन्नु भयो ।

Facebook Comments