Tue. May 7th, 2024

विप्लव समूहको निगरानी बढाउन प्रधान सेनापतिको निर्देशन

Purna-Chandra-Thapa.jpg

काठमाडौं, २०७७ मंसिर ३० गते मंगलबार

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरूलाई निर्देशन दिनु भएको छ । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न थापाले पृतना, वाहिनी, गण र गुल्मपतिहरूलाई भन्नु भएको छ ।

गतसाता मोरङको मिक्लाजुङ गाउँपालिका-१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको चन्द समूहले अपहरणपछि घाँटी रेटेर हत्या पश्चात प्रधान सेनापतिले विप्लव समूहका गतिविधिमाथि सूक्ष्म निगरानी बढाउन आदेश दिनु भएको हो ।

प्रधानाध्यापक श्रेष्ठको हत्या भएको भोलिपल्ट मंसिर २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिनु भएको थियो । त्यसअघि मंसिर १६ देखि १८ सम्म थापाले उत्तर-पश्चिम र सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतका जिल्लाका ब्यारेकको समेत निरीक्षण गर्नुभएको थियो ।

कान्तिपुर अनलाईनका अनुसार सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रधानसेनापतिको विभिन्न जिल्लाको भ्रमण क्रममा चन्द समूहका हिंसात्मक र संविधान, ऐन-नियमविरुद्धका गतिविधि नियन्त्रणमा सूक्ष्म निगरानी राख्न मातहत युनिटहरूलाई निर्देशन दिइएको बताउनु भयो ।

मंसिर २५ गते ओखलढुंगा र भोजपुरस्थित सैनिक ब्यारेकको भ्रमण गर्नु भएका प्रधानसेनापति थापाले त्यसअघि मंसिर १६ गते उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसहित हुम्ला, कालीकोटलगायत जिल्लास्थित सैनिक ब्यारेकको निरीक्षण गर्नुभएको थियो । मंसिर १७ र १८ गते सुदूरपश्चिम पृतना हेडक्वार्टर र मातहत जिल्लाका ब्यारेक पुग्नु भएको थियो । थापाले पछिल्लोपटक निरीक्षण गर्नु भएका जिल्लाका विकट भू–भागमा चन्द समूहका गतिविधि बढेका छन् । त्यसैलाई मध्यनजर गर्दै थापाले यी जिल्लाका ब्यारेक पुगेर चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन आदेश दिनु भएको हो ।

Facebook Comments