Fri. Apr 26th, 2024

राष्ट्रिय कविता महोत्सवमा भैरवी भूगोलको कवितालाई प्रथम पुरस्कार

काठमाडौं, २०७७ मंसिर ३० गते मंगलबार

नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७७ को प्रथम पुरस्कार कवि भैरवी भूगोलले प्राप्त गर्नुभएको छ । महोत्सवमा सहभागी कविहरुमध्येबाट नुवाकोटकी भूगोलको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

प्रतियोगितामा लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय स्थान हासिल गरेको छ भने सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईँको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ४० हजार रुपैयाँ र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितामा सहभागी ५०२ कवितामध्ये उत्कृष्ट ३० कवितालाई प्रतिस्पर्धाका लागि छनोट गरिएको प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं सञ्चार संयोजक शशी लुमुम्बूले बताउनुभयो । कविता प्रतियोगिताका निर्णायकमा डा हेमनाथ पौडेल, स्नेह सायमी र प्रभा भट्टराई रहनुभएको थियो ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्दै कविता महोत्सवले साहित्यप्रतिको आकर्षण र महत्त्वलाई उजागर गर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले राष्ट्रिय कविता महोत्सवमा २०४६ देखि २०७६ सम्मका पुरस्कृत कविताको सङ्ग्रहको विमोचन तथा विभिन्न कर्मचारीलाई प्रज्ञा दीर्घ सेवा र प्रज्ञासेवा पदक प्रदान गर्नुभयो ।

Facebook Comments