Tue. May 7th, 2024

मनकामना केबलकार नौ महिनापछि पुनः सञ्चालन

काठमाडौं, २०७७ मंसिर २९ गते सोमबार

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार आइतबारदेखि पुनः संचालनमा आएको छ ।

मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार संचालनमा ल्याएको हो ।

लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर र बजार खुलेसंगै केबुलकारबाट मन्दिर दर्शन गर्न जाने भक्तजनहरुको भीड लागेको छ ।

केबलकारले यात्रुहरुलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ । जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हातधुने आदि व्यवस्था मिलाएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतःप्रवेश बन्द गरिने जनाएको छ ।

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनका अनुसार कोरोनापछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन गरिनेछ । तर शनिबारको दिन दर्शनार्थीहरुको चाप बढी भएमा विहान ८ बजेदेखि नै संचालनमा ल्याइने छ । केबुलकार खुलेसंगै मनकामना क्षेत्र आसपासका व्यापार व्यवसायमा समेत चहलपहल देखिन थालेको छ ।

केबुलकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगद रहित कारोबारको लागि ई-सेवा, फोन-पे आदि जस्ता सेवा प्रदायक कम्पनीसंग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने जनाएको छ ।

Facebook Comments