Wed. May 15th, 2024

स्वास्थ्यकर्मी र डाक्टरलाई तलब भत्ता नदिए कडा आन्दोलन

काठमाडौं, २०७७ मंसिर २९ गते सोमबार

स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत सङ्घ-सङ्गठनको संयुक्त सङ्घर्ष समितिले अबको सात दिनभित्र स्वास्थ्यकर्मी र डाक्टरलाई तलब भत्ता नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

समितिले साेमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर  यसअघि पनि आफ्ना मागबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण गराएको तर बेवास्ता भएको र फेरि पनि बेवास्ता गरे कडा आन्दोलन गर्ने जनाएको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम माेलेर उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा डाक्टरले अझै पनि आफूले पाउने तलब भत्तालगायतका सुविधा पाएका छैनन् ।

उज्यालो अनलाईनका अनुसार नेपाल चिकित्सक सङ्घलगायत २३ वटा स्वास्थ्य सम्बद्ध ट्रेड युनियन तथा पेसागत सङ्घका संयुक्त सङ्घर्ष समितिले तलब सुविधालगायत आफ्नो १८ बुँदे माग सम्बोधन गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको हो ।

समितिले सरकारकै बेवास्ताका कारण कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा १० जनाभन्दा धेरै स्वास्थ्यकर्मी र डाक्टरको ज्यान गएको पनि जनाएको छ ।

Facebook Comments