Mon. Apr 29th, 2024

कम्युनिस्ट सरकारका कारण देशमा राजावादीहरु सक्रिय भएको देउवाको आरोप, विश्वप्रकाश शर्मा भन्नुहुन्छ: सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्‍यो

- नेपाली काँग्रेसको देशव्यापी विरोधसभा सम्पन्न

काठमाडौं, २०७७ मंसिर २९ गते सोमबार

ओली सरकारका विरुद्ध व्यापक असन्तुष्टि जनाउदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देशव्यापी विरोधसभाको आयोजना गरेको छ ।

सरकारका काम कारवाही जनहितमा नभएको, भ्रष्ट्राचार बढेको, चीन रिसाउँछ भनेर एमसीसीको विरोधमा लागेको, लोकतन्त्र र गणतन्त्र नै धरापमा परेको जस्ता दर्जनौ आरोपहरु लगाउँदै सो पार्टीले देशभर विरोधसभाको आयोजना गरेको हो । सो पार्टीले काठमाडौंलगायत देशका अन्य भागमा पनि विरोधसभा आयोजना गरेको छ । पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले देशका विभिन्न भागमा पुगेर विरोध प्रदर्शनको नेतृत्व गर्नुभएको थियो ।

हटौंडामा विरोध प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारका कारण देशमा राजावादीहरु सक्रिय भएको आरोप लगाउनु भयो । सभापति देउवाले देशमा वर्तमान व्यवस्थाको विरुद्धमा राजावादीहरुको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवारी भएको समेत बताउनु भयो । देउवाले लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी कांग्रेस मात्रै भएको समेत दाबी गर्नुभयो ।  पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले ओली सरकार र कम्युनिस्ट सरकारको गतिविधिका कारण जनता आजित भएको पनि बताउनु भयो ।

काठमाडौंमा विरोध प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले सबै सत्ता आफ्नो हातमा लिँदै आफ्ना मान्छे पोस्ने काम गरेको आरोप लगाउनुभयो । नेता पौडेलले कम्युनिस्ट सरकारकै पालामा भ्रष्टाचार बढेको, असुरक्षा र पक्षपात बढेको बताउनु भयो । नेता पौडेलले भन्नुुभयो अहिले लोकतन्त्रको धज्जी उडाउने काम भइरहेको छ । नेता पौडेलले पञ्चायतमा रुख रोप्दा तत्कालीन सत्ताले टाउको फुटाउने गरेको स्मरण गर्दै अहिले कम्युनिस्ट शासनमा पुल बनाउँदा करङ भाँचिएको बताउनु भयो ।

कान्तिपुर अनलाईनका अनुसार चितवनको नारायणगढमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेता रामशरण महतले वर्तमान सरकार एमसीसी पारित गर्ने पक्षमा रहे पनि सत्तारुढ दल भित्रैको विवादले प्रकृया अगाडी नबढेको बताउनु भयो । ‘अमेरिका र चीनको सम्बन्ध बिग्रेको छ । उसबाट ठूलो सहयोग लिँदा चीन रिसाउला भन्ने परेको होला ।’ नेता महतले भन्नुभयो ।  भारतसँगका सीमा विवाद टु्ंग्याउन राष्ट्रिय सहमतिका साथ अगाडी बढे पनि चीनसँग त्यसो हुन नसकेको उहाँले बताउनु भयो । उत्तरी सिमानामा देखिएको सिमाना सम्बन्धि विवादमा सरकारले चीनको पक्ष लिन थालेको नेता महतले आरोप लगाउनु भयो । ‘चीनतर्फ पनि विवाद छ । हुम्लाको माथिल्लो भाग, गोरखा, दोलखा र सोलुखुम्बुको सिमाना सारियो भन्ने छ । यसमा पनि वार्ता र छानबिन गर्नु पर्नेमा सरकारले नै त्यो चीन कै भुमि हो भन्छ,’ महतले भन्नु भयो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाउनु भयो । हेटौंडामा आयोजित सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएका बताउनु भयो ।

Facebook Comments