Sun. May 5th, 2024

अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई

काठमाडौं, २०७७ मंसिर २९ गते सोमबार

सरकारले दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने भएको छ । ति विमानस्थलहरुमा भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘ग्राउन्ड ह्यान्डलिङ’ सम्बन्धी पत्रसमेत नेपाल वायुसेवा निगमलाई पठाइसकिएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निर्माणको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने निर्णय गरिसकेको जानकारी दिनुभयो ।

गौतमबुुद्धको ९३ प्रतिशत र पोखराको ६७ प्रतिशत प्रगति भएको छ । गौतमबुद्धको डिसेम्बरभित्रै र पोखराको आगामी जुलाईसम्ममा सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यसै आर्थिक वर्षभित्रमा नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी सरकारको रहेको छ । दुवै विमानस्थल सञ्चालनमा आइसकेपछि नेपाल वायुसेवा निगमले ‘ग्राउन्ड ह्यान्डलिङ’को काम गर्ने छ । निगमले ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवाबाट वार्षिक करिब पाँच अर्ब रुपियाँ आम्दानी गर्दै आएको छ ।

गोरखापत्र अनलाईनका अनुसार प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भन्नुभयो, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा बसेको नागरिक उड्डयन प्राधिकरणको बोर्डको बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने निर्णय गरेको हो,’ संस्कृति मन्त्री भट्टराई प्राधिकरणको सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ अन्तर्गत नेपाल वायुसेवा निगमले गौतम बुद्ध र पोखरा विमानस्थल सञ्चालनमा आएपछि त्यहाँ अवतरण हुने विमानस्थलका यात्रुका लागि बस, भर्याङलगायतका विमानस्थलको ‘ग्राउण्ड’ मा सम्पूर्ण सेवाहरु उपलब्ध गराउने छन् । ’

Facebook Comments