Thu. Apr 25th, 2024

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात भ्रष्टाचारको अभियोगमा जेल चलान

काठमाडौं, २०७७ मंसिर २९ गते सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात भ्रष्टाचार अभियोगमा जेल चलान हुनुभएको छ । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा उहाँलाई विशेष अदालतले आईतबार पुर्पक्षका लागि थुनामा पठाएको हो । बस्न्यात डिल्लीबजार कारागार चलान हुनुभएको छ । मुद्धा दायर भएको दश महिनापछि बस्न्यात वरिष्ट अधिवक्ता सहित विशेष अदालतमा उपस्थित हनुभएको थियो ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की तथा सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको विशेष अदालतका उपरजिष्टार तथा प्रवत्ता पुष्पराज पाण्डेले बताउनु भयो । तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा पठाइ मुद्दाको बाँकी प्रक्रियामा सहभागी गराउन अदालतको आदेश भएको पाण्डेले बताउनुभयो । विशेषको थुनछेक आदेश उपर चित्त नबुझे बस्न्यातले सर्वोच्चमा निवेदन दिन पाउनु हुनेछ ।

अदालतमा उपस्थित हुनुभएका बस्न्यातले आफूमाथिको अभियोग स्वीकार समेत गर्नुभएको छ । आफैँले हस्ताक्षर गरेर प्रस्ताव तयार पारेको उहाँले स्वीकार गर्नुभएको छ । यस्तै, नक्कली जग्गाधनी र मोही खडा गरेकोलाई अदालतले थुनामा पठाउने प्रमुख आधार लिएको छ । बस्न्यातमाथि अख्तियारले सरकारी सम्पत्ति व्यक्तिको नाममा दर्ता गर्न भूमिका निर्वाह गरेको, बदनियतपूर्ण लिखत तयार पारेको लगायतका आरोप लगाइएको छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव रहँदा बस्न्यातले मोहीका नाममा जग्गा कायम गर्नेगरि प्रस्ताव लगेको अभियोग अख्तियारले लगाएको छ । दोषी ठहर भएमा बस्न्यातमाथि सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता गर्न सहयोग गरेको, गलत लिखत तयार पारेकोमा सजाय हुनेछ । साथै सार्वजनिक पद धारण गरेको व्यक्तिका हैसियतमा थप सजाय पनि हुनेछ ।

ललिता निवास प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा ६५ जनालाई जग्गा जफतको हकमा मात्र विपक्षी बनाइएको छ । बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपियाँ बिगो कायम गरेको छ ।

प्रकरणका आरोपितमध्ये पहिलो पटक अदालतमा उपस्थित हुनुभएका तत्कालीन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई गत चैत ३ गते विशेषले थुनामा राख्ने आदेश गरेको थियो । लगत्तै सर्वोच्चले र्पौडेललाई दुई लाख रुपियाँ धरौटीमा रिहाको आदेश गरेको थियो । त्यसपछि उपस्थित भएका सबैलाई अदालतले धरौटी तथा साधरण तारेखमा रिहाको आदेश गरेको थियो ।

Facebook Comments