Fri. May 3rd, 2024

नेकपा स्थायी कमिटी बैठक १ वजे बालुवाटारमा बस्ने

काठमाडौं, २०७७ मंसिर २८ गते आईतबार

सत्तारुढदल  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज  दिउसो १ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आजदेखि स्थायी कमिटीका सदस्यहरुले धारणा राख्नेक्रम शुरु हुने बताइएको छ ।

गत आइतबार बसेको स्थायी कमिटी बैठक एक सातापछि आज पुनः  बस्न लागेको हो । यसअघिको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसेपनि आजको बैठक बालुवाटार बस्ने तय भएको स्थायी कमिटीका सदस्यहरुले बताउनुभएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता हुने बताइएको छ । यसअघिको बैठकमा उहाँ अनुपस्थित रहनुभएको थियो ।

गोरखापत्र अनलाईनका अनुसार दुई अध्यक्ष ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव अध्ययनका लागि वितरण गरिए पनि बैठकको एजेण्डा भने ‘पार्टीको आन्तरिक समस्या’ तय गरिएको छ । स्थायी कमिटीमा ४५ जना सदस्य हुनुहुन्छ । सबै सदस्यहरुले आफ्नो धारणासहितको छुट्टाछुट्टै प्रस्ताव पेश गर्ने तयारी गर्नुभएको छ । सबै सदस्यले धारणा राख्दा बैठक लम्बिनसक्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।

यसअघि २४ गते बुधबार अध्यक्षद्वयबीच बालुवाटारमा एक्लाएक्लै वार्ताभएको थियो । वार्तामा आन्तरिक समस्या समाधानका लागि केन्द्रित भएर छलफल भएपनि सहमति बन्न सकेको छैन । त्यसपछि स्थायी कमिटीका सदस्यहरुले दुवै अध्यक्षहरुसँग छलफल गर्नुभए पनि दुई अध्यक्षबीच सहमति बन्न सकेको छैन । अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिनुहुँदै फिर्ताको माग गर्नुभएको छ ।

स्थायी कमिटी बैठकमा आवश्यक छलफलपछि ठोस निर्णय गरिने तयारी नेताहरुको छ । दुई अध्यक्षबीचको विवादलाई यसअघि पनि स्थायी कमिटी बैठकले सल्टाएकाले यसपल्ट पनि केही न केही सहमति हुने र पार्टी सहजरुपमा अघि बढ्ने विश्वास नेताहरुको छ । स्थायी कमिटी बैठकपछि पुस ५ गतेका लागि केन्द्रिय कमिटी बैठक तय गरिसकिएको छ । नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन तय गरिसकेकाले पनि केन्द्रीय कमिटी बैठकबाट महत्वपूर्ण निर्णय गर्न बाँकी छ ।

Facebook Comments