Sat. Apr 27th, 2024

काठमाडौँ-दिल्ली उडान पुस २ गतेदेखि

काठमाडौं, २०७७ मंसिर २६ गते शुक्रबार

कोरोना सङ्क्रमण नियन्त्रण स्वरूप चैत ४ देखि स्थगित नेपाल-भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन् । आफ्ना नागरिकलाई मात्र सीमित सङ्ख्यामा उडान सुविधा दिने यो नीति अन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउनेछन् ।

दुवै देशबीच पुस २ देखि उडान सञ्चालन गर्ने सहमति भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो उडान निगमले गर्नेछ । भारतका तर्फबाट एयर इन्डियाले नेपाल उडान गर्नेछ । उक्त उडान हरेक दिन काठमाडौँदेखि दिल्लीसम्म हुने उहाँले स्पष्ट पार्नुभयो । यसअघि भारतले गत भदौमा नेपालसमक्ष उडान सञ्चालन गर्ने प्रस्ताव गरे पनि कोरोना सङ्क्रमण जोखिम कायमै रहेको भन्दै नेपालले तत्काल उडान नगर्ने प्रतिक्रिया भारतलाई दिएको थियो ।

यसैबीच नेपालस्थित भारतीय राजदूतावासले पनि हवाई उडान फेरि सञ्चालन हुने जानकारी दिएको छ । “दिल्ली-काठमाडौँ नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ । एयर इन्डिया र नेपाल वायु सेवा निगमले यी दैनिक उडान सञ्चालन गर्नेछन्”, दूतावासले राखेको सूचनामा उल्लेख छ । साथै उसले टिकटका लागि सम्बन्धित देशको एयरलाइन्सको वेबसाइट हेर्न आग्रह गरेको छ ।

“दुई देशबीच एयर ट्राभल बबलका रूपमा उडान सुचारु हुन लागेको हो”, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भन्नुभयो । एयर ट्राभल बबल भन्नाले नेपालबाट नितान्त नेपाली र भारतीय र भारतबाट नितान्त भारतीय र नेपाली नागरिकले हवाई उडानमार्फत आवतजावत गर्न पाउनेछन् । गोरखापत्र अनलाईनबाट

Facebook Comments