Mon. May 6th, 2024

मानव अधिकार पत्रकारीता बर्ष पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत

पुरस्कार ग्रहण गनुृहुँदै पत्रकार गौतम

रुद्र थेबे

इलाम, २०७७ मंसिर २५ गते बिहीबार

प्रदेश नम्वर एक स्तरीय मानव अधिकार पत्रकारीता बर्ष पुरस्कार, २०७७ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत हुनु भएको छ ।

विश्व मानव अधिकार दिवस (१० डिसेम्बर)को दिन प्रदान गर्दै आएको सातौं मानव अधिकार पत्रकारीता पुरस्कार विहिबार एक कार्यक्रमको आयोजना गरी पत्रकार गौतमलाई प्रदान गरएिको हो ।

‘महामारीमा मानवअधिकारः स्वास्थ्य सेवामा सबैको पहँच विस्तार’ भन्ने मुल नाराका साथ मनाइएको ७२ औं विश्व मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको सोह्रदिने अभियानको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अथिति प्रदेश नम्वर एक का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बहादुर राना मगरले नगद दश हजार सहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

ताप्लेजुङ्गलाई कार्यक्षेत्र बनाएर विगत १५ वर्ष देखि पत्रकारितामा क्रियाशिल गौतम नेपाल पत्रकार महासंघ ताप्लेजुङ्ग शाखाका संस्थापक सचिव र हाल कान्तिपुर मिडियाग्रुपमा आवद्ध हुनुहुन्छ ।

मानव अधिकार मञ्च नेपाल इलामले प्रदेश नम्वर एक मा रहेर मानव अधिकारको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई हरेक बर्ष पुरस्कृत गर्दै आएको छ ।

वि.सं.२०५५ सालदेखि मानव अधिकार र अधिकारको संरक्षण तथा सम्बर्धन मार्फत दीगो शान्ति र न्यायको निम्ति क्रियाशिल रहने ध्येयले ईलाममा रहेर हाल प्रदेश नम्वर एक मा क्रियाशिल संस्था मानव अधिकार मञ्च नेपालले वि.सं.२०७१ सालदेखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।


मानव अधिकार पत्रकारीता बर्ष पुरस्कार यस भन्दा अगाडि मोरङका यज्ञ शर्मा, इलामका सटेन्द्र जबेगु, झापाका चन्द्र भण्डारी, इलामका कोकिला ढकाल, झापाका पर्वत पोर्तेल र खोटाङका दमन राईलाई प्रदान गरिएको थियो ।

मानव अधिकार मञ्च नेपालका भक्त थामीको संयोजकत्व र कोकिला ढकाल र उर्मिला राई समेत तीन सदस्य रहेको छनौट समितिले यो बर्षको सातौं मानव अधिकार पत्रकारीता बर्ष पुरस्कारको लागि गौतमलाई छनौट गरेको हो ।

पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी तुलसिराम सेढाई, नेपाल कम्युनिस्ट पार्टी इलामका प्रतिनिधि भक्त केसी, गैरसरकारी संस्था प्रदेश नम्वर एक का अध्यक्ष प्रकाश अधिकारी, इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालु, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष कोकिला ढकालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष वीरबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

छनौट प्रक्रियाको बारेका छनौट समितिका संयोजक भक्त थामिले जानकारी दिनु भएको थियो भने लक्ष्मी सुब्बाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नविन राई, शसस्त्र प्रहरीका प्रतिनिधि, विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments